Showing posts with label मेरो अनुभूति. Show all posts
Showing posts with label मेरो अनुभूति. Show all posts

Wednesday, May 26, 2021

मेरो अनुभूतिः दोष कसको ?

दोष कसको ?
– बटुकलाल तमाङ
हामी नेपाल भन्ने स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न देशमा बस्दछौं । मध्य दक्षिण देशहरु सिंगापुर, मलेसिया, ब्रुनाइ, इण्डोनेसिया, अनि बेलायतमा हामीलाई नेपाली भन्दा पनि ‘गुर्खा’ भनी सहज रुपमा चिन्दछ । अमेरिका लगायत अन्य धेरै देशका आम नागरिकहरुलाई नेपाल भन्ने देशको बारेमा थाहा छैन, बरु विश्वको सबै भन्दा अग्लो चुचुरो माउन्ट एभरेष्ट र बुध्दको बारेमाचाहि जानकारी छ उनीहरुलाई ।
विगत १०, १२वर्ष यता देशमा नयाँ संविधानसँगै नयाँ नेपालको आशा बोकी रहेका हामी नेपालीका छोराहरु अलिक राम्रो पढाइ भए अमेरिका, अष्ट्रलिया र युरोपको अध्ययन भिजामा दिनहुँ हुलका हुल बाहिरिएका छन् । छोरीहरुको पढाइ राम्रो भए सक्कली वा नक्कली श्रीमानलाई डिपेन्डेण्ट भिजामा साथ लिई अष्ट्रेलियामा अध्ययन गर्न जानेहरुको लर्को पनि उत्तिकै ठूलो छ । उतै पीआर लिई प्रायः नफर्किने गरी बस्दैछन् उनीहरु । हिजो आज त कक्षा १२ उत्तीर्ण हुनासाथ छोरा होस् वा छोरी जापान जान हतार हुने गरेको छ ।
यसरी नेपाली छोरा छोरीहरु विदेशिएको दिन जिन्दगीको सबै भन्दा ठूलो सफलता हासिल गरेको दिन झै मानी खुसी हुन्छन् बाबु आमा, अनि छोरा छोरी खुसी नहुने त कुरै भएन ।
हिजो मात्रै पल्लो गाउँमा एक वृद्ध महिला घरमा एक्लै भएको अवस्थामा लुटेरहरुले गहना लुट्ने क्रममा उनको हत्या गरिदियो । चार छोराहरु मध्ये एकजना अष्ट्रेलिया अनि तीनजना जापान । घरमा सन्तान भएको भए शायद यो अवस्था आउँदैनथ्यो की ?
अहिले नेपाल भन्ने देशमा धेरै वृद्धाहरु सन्तान भएर पनि सन्तान विहिन झै बस्नु परेको छ । उत्कृष्ठ जनशक्ति पलायन हुने क्रम बढ्दो छ । यो अवस्था आउनुको दोष कसको ? सुखद् भविष्यको चाहना राख्ने छोरा छोरीको ? वा, छोरा छोरीको उज्वल भविष्य चिताउने बाबुआमाको ? वा, युवाहरुलाई देशभित्रै सुखद् र सुनिश्चित भविष्यप्रति आश्वस्त पार्न नसक्ने राज्य संयन्त्रको ?
२०७६ भदाै


मेरो अनुभूतिः कोभिड १९ संक्रमण

 कोभिड १९ संक्रमण, मेरो अनुभूति

-बटुकलाल तमाङ, चितवन

कोभिड १९ संक्रमणबाट मैले १९औं दिनमा औपचारिक मुक्ति पाएको रिपोर्ट प्राप्त गरें । कोभिड १९ केही पनि होइन, र कोभिड १९ संक्रमणले अफ्ठ्यारै पार्छ भन्ने खालको दुई फरक बजार हल्ला सुन्दै आएको थिएँ । दुवै खालको हल्लामा सत्यता छ । तर मलाई चाहि पछिल्लो भनाइ चरितार्थ भयो, अर्थात ८ दिनसम्म अति नै गाह्रो भयो ।

सदा झै विद्यालय आउने जाने अनि एकाध ठाउँमा गएको भन्दा अरु यात्रा विवरण खासै थिएन, तैपनि कातिक १९ गते ज्वरो आउन थाल्यो । मौसमी ज्वरो होला भन्ने ठानेर सिटामोल खाएँ । भोलिपल्ट विहान फ्रेस महसुस गरेकोले विद्यालय पनि गएँ । तर दिन ढल्दै जाँदा ज्वरो फेरी बढ्न थालेकोले घर फर्किएँ । बाँकी तीन दिनसम्म सिटामोल खाने, ६ घण्टामात्र ज्वरोबाट मुक्ति पाउने क्रम चलिरह्यो । तर चौथो दिनबाट स्वाद र गन्ध हरायो, खानेकुरा के खाएको खासै स्वाद पाउन छाड्यो । त्यस पछि असाध्यै गाह्रो दिन सुरु भयो । पाँचौ दिन अति मुश्किलले आफै साधन चलाएर चितवन मेडिकल कजेलमा स्वाब दिन गएँ । तबसम्म मेरी श्रीमतीलाई पनि ज्वरो आउन थाली सकेको थियो । उनी एउटा कोठामा र म अर्को कोठामा होम आइसोलेशनमा नै बस्यौं । छोरीलाई मेरो अनि ममिको छुट्टा छुट्टै स्याहार गर्नु पर्दा कामको भार थपियो । भोलिपल्ट साँझ ८ः३०बजे मोबाइलमा कोभिड १९ पोजिटिभ भन्ने मेसेज आयो, पर्सि पल्ट विहानै छोरीलाई रिपोर्ट लिन सीएमसी पठाएँ, सिटी भ्यालु इजेन ९.२८ र ओआरएफ ७.७ रहेछ । भाइरल लोड अत्याधिक भएको थाहा पाएँ । कुरा बुझ्दै जाँदा सिटी भ्यालु ३८भन्दा माथि आएमा नेगेटिभ र ३८वा सो भन्दा तल आएमा पोजिटिभ रिपोर्ट आउने जानकारी पाएँ । सिटी भ्यालु २०भन्दा कम आउनु भनेको खतराको चिन्ह पार गर्नु रहेछ, किनकी २०भन्दा कम हुँदा अरुलाई संक्रमण सार्ने सम्भावना अधिक हुने रहेछ । घरैमा बस्नु उचित ठानिन । अस्पताल जाउँ भने झन असुरक्षित महसुस हुने, यस मानेमा कि छिटो र सही हेरचाह पाइदैन कि भन्ने भ्रम र बजार हल्लाले मेरो मनमा राम्रै जरो गाडेको थियो । थप एक दिन के गर्ने भन्ने अन्यौलतामा नै बित्यो ।

बागेश्वरी चितवन स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको बारेमा भाइ मनोज बरालबाट जानकारी प्राप्त हुन आयो, त्यहाँको व्यवस्थापन राम्रो छ भन्ने पृष्ठपोषण पाएको थिएँ । यता हामीलाई स्याहार सुसार गर्न खटिएकी छोरीलाई पनि हलुका ज्वरो आयो भने पछि, तुरुन्त निर्णय लिइहालें । आफ्नो निजी साधनमा ओड्ने ओछ्याउने अनि अन्य केही दैनिक आवश्यकीय सामानहरु राख्यौं, अनि सीएमसी गएर श्रीमतीको समेत स्वाब संकलन गराइयो र सोझै बागेश्वरी प्राकृतिक चिकित्सालय तर्फ लाग्यौं । त्यहाँ पुग्ने वित्तिकै डाक्टरहरु तुरुन्तै फाइल बोकेर आउनु भयो । हाम्रो सबै विवरण लिखित रुपमा लिनु भयो । डा. हेमराज कोइरालाको नेतृत्वमा रहनु भएका पाँच सदस्यीय चिकित्सकहरु डा. प्रमोद, डा. प्रतिक्षा, डा.विकास अनि डा. सृष्टि साँचै नै यस प्राकृतिक चिकित्सालयका लागि अत्यन्तै उपयुक्त पात्राहरु र वरदान नै रहेको महसुस गरें । २४सै घण्टा विरामी (वहाँहरुको भाषामा भन्नु पर्दा कोभिड १९ संक्रमित योग साधकहरु)को हेरचाहमा खटिनु हुने रहेछ । मेरो रिपोट पोजिटिभ भएको हुँदा आइसोलेशन ब्लक भित्र प्रवेश पाएँ, तर श्रीमतीको रिपोर्ट नआएको हुँदा छुटै ब्लकमा राखियो । आइसोलेशन ब्लकमा करिब ६०जना जति थियौ हामी । मास्क लगाउन नपाइने नियम रहेछ त्यो भित्र, गजब अनुभव । जंगलको माझमा पर्याप्त अक्सिजन, हरेक दिन विहानको १ः३० घण्टा लामो योग अभ्यास, विरामीको अवस्था अनुसारको खानेकुरा, चिकित्सकहरुको विरामीलाई हुने व्यक्तिगत निगरानी, व्याडमिन्टन खेल, र खुला ठाउँमा विहानैबाट घाम ताप्ने अनि हिड्ने पर्यात स्थान, र विरामी साधाकहरु विच हुने भलाकुसारी नै यस प्राकृतिक चिकित्सालयको कोभिड १९ लाई सहजै र छिटै परास्त गर्ने सशक्त अस्त्रहरु हुन जस्तो लाग्छ मलाई । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित यस कार्यक्रम साच्चै नै अति प्रभावकारी छ । खाना र बस्नलाई वडाको सिफारिश ल्याए पछि निशुल्क रहेछ ।

यहाँ बस्दा थप पाँच दिन मलाई ज्वरोले छाडेन, असाध्यै गलायो, करङको भागमा अति दुख्ने, सुत्न नसकिने, सास नै छिनेर लैजान्छ कि जस्तो हुने । मोबाइल साइलेन्टमा राखेको थिएँ, इष्ट मित्र साथीहरुको फोनकल अधिक आइरहेको थियो, उठाएर कुरा गर्ने अवस्था थिएन, यसका लागि सबै इष्ट मित्र साथीहरुमा क्षमा प्रार्थी छु । यहाँहरुको हरेक कलले मलाई यस जटिल घडीमा हौसला अनि उर्जा मिली रहेको थियो । माइलो भाई, बुद्धि, बु्रनाईबाट ठूली छोरी अस्मिता अनि ज्वाइँ, हेटौडाबाट माइली छोरी रुविना अनि ज्वाइँ, घरबाट कान्छी छोरी प्रविना र छोराको बारम्बार आइरहने भिडियो कल र ढाडस साच्चै अदभुत औषधिको काम गरी रहेको थियो यतिबेला । हामीले घर छाडेको भोलिपल्ट घरमा छोरी र छोरालाई पनि हलुका ज्वरो आएको थियो एक एक डोज सिटामोलले उनीहरुले स्वास्थ्यलाभ गरे । कोभिड १९को रिपार्ट नेगेििटभ आए पनि तिहारको दिन श्रीमतीलाई अलि बढी नै गाह्रो भयो । भोलिपल्ट डा. प्रमोदले ल्याबबाट एकजना ल्याब कर्मचारी डाकी दिनु भयो र उनको रगत, दिसा, पिसाबको स्याम्पल लिएर होल बडी चेकअप भयो । हेमोग्लोविन ७ं.२, रगतमा केही संक्रमण र निमोनियाको लक्षण देखिए पछि माइलो भाईलाई बोलाएर उनलाई सिएमसी लगियो, अर्को तनाव सुरु । सोही दिन राती रगत चढाउनु पर्ने भयो राती नै । दाज्यु नरेन्द्र के.सी.लाई धेरै धेरै धन्यवाद शीघ्र रगतको व्यवस्थापन र अन्य कुरामा सहयोग गरी दिनु भएकोमा । पुनः भाइलर टेस्ट गरी कोभिड १९ नेगेटिभको कन्र्फमेशन गरी उनलाई भोलिपल्ट ननकोभिड वार्ड राखी निमोनियाको उपचार सुरु भयो, क्रमशः सुधार हुँदै गएको खबर पाइ रहेँ । सिएमसीमा साँच्चै राम्रो उपचार दिने रहेछ, मेरो मनमा रहेको गलत भ्रम हट्यो । १२दिन पछि मंसीर १गतेबाट बल्ल बल्ल ज्वरोबाट मुक्ति पाइयो, शरीर फ्रेस हुँदै आयो । योगा र त्यहाँको वातावरणले होला ज्वरो आउन छाडेको चार दिनमा नै असाध्यै स्वस्थ्य महसुस गरें । मंसीर ५ गते अर्थात ज्वरोको सुरुवात भएको १७औं दिन पुनः स्वाब दिइयो । मंसीर ७ गते बेलुका ५बजे तिर रिपोर्ट मेसेज आयो मोबाइलमा नेगेटिभ भनेर, त्यति बेला संसार नै जिते जस्तो भान भयो । श्रीमती पनि हिजो राति अस्पतालबाट डिस्चार्ज भइन्, धेरै सुधार भएको छ, निमोनियाबाट पूर्णरुपमा मुक्ति पाउँन उनलाई अझै केही लाग्ने डाक्टरको भनाइ छ, हाल घरैमा औषधि सेवन गरी स्वास्थ्यलाभ लिइरहेकी छिन । एउटा अति नमिठो कालखण्ड गुजारेर हिजो राति (मंसीर ७) गते सबैजना पुनः आफ्नै बासस्थानमा फर्किएका छौं । यस विचमा हाम्रोलागि स्वास्थ्यलाभको कामना गर्नु हुने सबै इष्टमित्र, साथी, शुभचिन्तकहरुमा हार्दिक नमन अनि आभार व्यक्त गर्न चाहन्छु । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय (कोभिड १९ आइसोलेशन केन्द्र) वागेश्वरीमा रहँदा सहयोग पुर्याउनु हुने पाँचैजना मेहनती र कर्तव्यपरायण चिकित्सकहरु, प्रशासकीय अधिकृत मित्र कमल पाण्डे, भान्सा र अन्य व्यवस्थापनका टीम, सुरक्षाकर्मीहरु, सामानहरु ल्याउन सहयोग पुर्याउने सीता बहिनी, आइसोलेशन भित्र सँगै बसी बसाइलाई सरल र सहज बनाउने सबै साथीहरुलाई हार्दिक नमनका साथ पुनः स्मरण गर्न चाहन्छु । 

धन्यवाद । (२०७७ मंसीर ०८)




शैक्षिक लेखः विद्यालय शिक्षामा अनलाइन कक्षा

विद्यालय शिक्षामा अनलाइन कक्षा  बटुकलाल तमाङ  भरतपुर, चितवन  भूमिका  कोभिड महामारीको बेलामा बाध्यतावश अनलाइन कक्षाहरुको लहर नै चल्यो । नहुन ...