कोभिड १९ संक्रमण, मेरो अनुभूति
-बटुकलाल तमाङ, चितवन
कोभिड १९ संक्रमणबाट मैले १९औं दिनमा औपचारिक
मुक्ति पाएको रिपोर्ट प्राप्त गरें । कोभिड १९ केही पनि होइन, र कोभिड १९ संक्रमणले अफ्ठ्यारै पार्छ भन्ने खालको
दुई फरक बजार हल्ला सुन्दै आएको थिएँ । दुवै खालको हल्लामा सत्यता छ । तर मलाई
चाहि पछिल्लो भनाइ चरितार्थ भयो, अर्थात ८ दिनसम्म अति
नै गाह्रो भयो ।
सदा झै विद्यालय आउने जाने अनि एकाध ठाउँमा गएको
भन्दा अरु यात्रा विवरण खासै थिएन, तैपनि
कातिक १९ गते ज्वरो आउन थाल्यो । मौसमी ज्वरो होला भन्ने ठानेर सिटामोल खाएँ ।
भोलिपल्ट विहान फ्रेस महसुस गरेकोले विद्यालय पनि गएँ । तर दिन ढल्दै जाँदा ज्वरो
फेरी बढ्न थालेकोले घर फर्किएँ । बाँकी तीन दिनसम्म सिटामोल खाने, ६ घण्टामात्र ज्वरोबाट मुक्ति पाउने क्रम चलिरह्यो ।
तर चौथो दिनबाट स्वाद र गन्ध हरायो, खानेकुरा
के खाएको खासै स्वाद पाउन छाड्यो । त्यस पछि असाध्यै गाह्रो दिन सुरु भयो । पाँचौ
दिन अति मुश्किलले आफै साधन चलाएर चितवन मेडिकल कजेलमा स्वाब दिन गएँ । तबसम्म
मेरी श्रीमतीलाई पनि ज्वरो आउन थाली सकेको थियो । उनी एउटा कोठामा र म अर्को
कोठामा होम आइसोलेशनमा नै बस्यौं । छोरीलाई मेरो अनि ममिको छुट्टा छुट्टै स्याहार
गर्नु पर्दा कामको भार थपियो । भोलिपल्ट साँझ ८ः३०बजे मोबाइलमा कोभिड १९ पोजिटिभ
भन्ने मेसेज आयो, पर्सि पल्ट विहानै छोरीलाई रिपोर्ट लिन
सीएमसी पठाएँ, सिटी भ्यालु इजेन ९.२८ र ओआरएफ ७.७ रहेछ ।
भाइरल लोड अत्याधिक भएको थाहा पाएँ । कुरा बुझ्दै जाँदा सिटी भ्यालु ३८भन्दा माथि
आएमा नेगेटिभ र ३८वा सो भन्दा तल आएमा पोजिटिभ रिपोर्ट आउने जानकारी पाएँ । सिटी
भ्यालु २०भन्दा कम आउनु भनेको खतराको चिन्ह पार गर्नु रहेछ, किनकी २०भन्दा कम हुँदा अरुलाई संक्रमण सार्ने
सम्भावना अधिक हुने रहेछ । घरैमा बस्नु उचित ठानिन । अस्पताल जाउँ भने झन
असुरक्षित महसुस हुने, यस मानेमा कि छिटो र सही हेरचाह पाइदैन कि
भन्ने भ्रम र बजार हल्लाले मेरो मनमा राम्रै जरो गाडेको थियो । थप एक दिन के गर्ने
भन्ने अन्यौलतामा नै बित्यो ।
बागेश्वरी चितवन स्थित योगी नरहरिनाथ योग तथा
प्राकृतिक चिकित्सालयको बारेमा भाइ मनोज बरालबाट जानकारी प्राप्त हुन आयो, त्यहाँको व्यवस्थापन राम्रो छ भन्ने पृष्ठपोषण
पाएको थिएँ । यता हामीलाई स्याहार सुसार गर्न खटिएकी छोरीलाई पनि हलुका ज्वरो आयो
भने पछि, तुरुन्त निर्णय लिइहालें । आफ्नो निजी
साधनमा ओड्ने ओछ्याउने अनि अन्य केही दैनिक आवश्यकीय सामानहरु राख्यौं, अनि सीएमसी गएर श्रीमतीको समेत स्वाब संकलन गराइयो
र सोझै बागेश्वरी प्राकृतिक चिकित्सालय तर्फ लाग्यौं । त्यहाँ पुग्ने वित्तिकै
डाक्टरहरु तुरुन्तै फाइल बोकेर आउनु भयो । हाम्रो सबै विवरण लिखित रुपमा लिनु भयो
। डा. हेमराज कोइरालाको नेतृत्वमा रहनु भएका पाँच सदस्यीय चिकित्सकहरु डा. प्रमोद, डा. प्रतिक्षा, डा.विकास
अनि डा. सृष्टि साँचै नै यस प्राकृतिक चिकित्सालयका लागि अत्यन्तै उपयुक्त
पात्राहरु र वरदान नै रहेको महसुस गरें । २४सै घण्टा विरामी (वहाँहरुको भाषामा
भन्नु पर्दा कोभिड १९ संक्रमित योग साधकहरु)को हेरचाहमा खटिनु हुने रहेछ । मेरो
रिपोट पोजिटिभ भएको हुँदा आइसोलेशन ब्लक भित्र प्रवेश पाएँ, तर श्रीमतीको रिपोर्ट नआएको हुँदा छुटै ब्लकमा
राखियो । आइसोलेशन ब्लकमा करिब ६०जना जति थियौ हामी । मास्क लगाउन नपाइने नियम
रहेछ त्यो भित्र, गजब अनुभव । जंगलको माझमा पर्याप्त अक्सिजन, हरेक दिन विहानको १ः३० घण्टा लामो योग अभ्यास, विरामीको अवस्था अनुसारको खानेकुरा, चिकित्सकहरुको विरामीलाई हुने व्यक्तिगत निगरानी, व्याडमिन्टन खेल, र खुला ठाउँमा विहानैबाट घाम ताप्ने अनि हिड्ने पर्यात स्थान, र विरामी साधाकहरु विच हुने भलाकुसारी नै यस
प्राकृतिक चिकित्सालयको कोभिड १९ लाई सहजै र छिटै परास्त गर्ने सशक्त अस्त्रहरु
हुन जस्तो लाग्छ मलाई । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित यस कार्यक्रम साच्चै
नै अति प्रभावकारी छ । खाना र बस्नलाई वडाको सिफारिश ल्याए पछि निशुल्क रहेछ ।
यहाँ बस्दा थप पाँच दिन मलाई ज्वरोले छाडेन, असाध्यै गलायो, करङको
भागमा अति दुख्ने, सुत्न नसकिने, सास नै छिनेर लैजान्छ कि जस्तो हुने । मोबाइल साइलेन्टमा राखेको थिएँ, इष्ट मित्र साथीहरुको फोनकल अधिक आइरहेको थियो, उठाएर कुरा गर्ने अवस्था थिएन, यसका लागि सबै इष्ट मित्र साथीहरुमा क्षमा प्रार्थी
छु । यहाँहरुको हरेक कलले मलाई यस जटिल घडीमा हौसला अनि उर्जा मिली रहेको थियो ।
माइलो भाई, बुद्धि, बु्रनाईबाट
ठूली छोरी अस्मिता अनि ज्वाइँ, हेटौडाबाट माइली छोरी
रुविना अनि ज्वाइँ, घरबाट कान्छी छोरी प्रविना र छोराको
बारम्बार आइरहने भिडियो कल र ढाडस साच्चै अदभुत औषधिको काम गरी रहेको थियो यतिबेला
। हामीले घर छाडेको भोलिपल्ट घरमा छोरी र छोरालाई पनि हलुका ज्वरो आएको थियो एक एक
डोज सिटामोलले उनीहरुले स्वास्थ्यलाभ गरे । कोभिड १९को रिपार्ट नेगेििटभ आए पनि
तिहारको दिन श्रीमतीलाई अलि बढी नै गाह्रो भयो । भोलिपल्ट डा. प्रमोदले ल्याबबाट
एकजना ल्याब कर्मचारी डाकी दिनु भयो र उनको रगत, दिसा, पिसाबको स्याम्पल लिएर होल बडी चेकअप भयो ।
हेमोग्लोविन ७ं.२, रगतमा केही संक्रमण र निमोनियाको लक्षण
देखिए पछि माइलो भाईलाई बोलाएर उनलाई सिएमसी लगियो, अर्को तनाव सुरु । सोही दिन राती रगत चढाउनु पर्ने भयो राती नै । दाज्यु
नरेन्द्र के.सी.लाई धेरै धेरै धन्यवाद शीघ्र रगतको व्यवस्थापन र अन्य कुरामा सहयोग
गरी दिनु भएकोमा । पुनः भाइलर टेस्ट गरी कोभिड १९ नेगेटिभको कन्र्फमेशन गरी उनलाई
भोलिपल्ट ननकोभिड वार्ड राखी निमोनियाको उपचार सुरु भयो, क्रमशः सुधार हुँदै गएको खबर पाइ रहेँ । सिएमसीमा
साँच्चै राम्रो उपचार दिने रहेछ, मेरो मनमा रहेको गलत
भ्रम हट्यो । १२दिन पछि मंसीर १गतेबाट बल्ल बल्ल ज्वरोबाट मुक्ति पाइयो, शरीर फ्रेस हुँदै आयो । योगा र त्यहाँको वातावरणले
होला ज्वरो आउन छाडेको चार दिनमा नै असाध्यै स्वस्थ्य महसुस गरें । मंसीर ५ गते
अर्थात ज्वरोको सुरुवात भएको १७औं दिन पुनः स्वाब दिइयो । मंसीर ७ गते बेलुका ५बजे
तिर रिपोर्ट मेसेज आयो मोबाइलमा नेगेटिभ भनेर, त्यति
बेला संसार नै जिते जस्तो भान भयो । श्रीमती पनि हिजो राति अस्पतालबाट डिस्चार्ज
भइन्, धेरै सुधार भएको छ, निमोनियाबाट पूर्णरुपमा मुक्ति पाउँन उनलाई अझै
केही लाग्ने डाक्टरको भनाइ छ, हाल घरैमा औषधि सेवन
गरी स्वास्थ्यलाभ लिइरहेकी छिन । एउटा अति नमिठो कालखण्ड गुजारेर हिजो राति (मंसीर
७) गते सबैजना पुनः आफ्नै बासस्थानमा फर्किएका छौं । यस विचमा हाम्रोलागि
स्वास्थ्यलाभको कामना गर्नु हुने सबै इष्टमित्र, साथी, शुभचिन्तकहरुमा हार्दिक नमन अनि आभार व्यक्त
गर्न चाहन्छु । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित योगी नरहरिनाथ योग तथा
प्राकृतिक चिकित्सालय (कोभिड १९ आइसोलेशन केन्द्र) वागेश्वरीमा रहँदा सहयोग
पुर्याउनु हुने पाँचैजना मेहनती र कर्तव्यपरायण चिकित्सकहरु, प्रशासकीय अधिकृत मित्र कमल पाण्डे, भान्सा र अन्य व्यवस्थापनका टीम, सुरक्षाकर्मीहरु, सामानहरु ल्याउन सहयोग पुर्याउने सीता बहिनी, आइसोलेशन भित्र सँगै बसी बसाइलाई सरल र सहज बनाउने
सबै साथीहरुलाई हार्दिक नमनका साथ पुनः स्मरण गर्न चाहन्छु ।
धन्यवाद । (२०७७ मंसीर ०८)