९) आधुनिक दास
रमिन्द्रले देश विदेशको खबरमा चासो राख्छ । देशको
प्रत्येक घटनाको रेकर्ड बुझ्न उ कहाँ गए फरक पर्दैन । उ आफुलाई सर्वज्ञ भन्न पनि
पछि पर्दैन । देश परिवर्तन हुन के के हुनु पर्दछ उसलाई मुखाग्र छ । सबैले अग्रगामी
सोच राखेमात्रै देशको विकासले छलाङ मार्छ – भन्छ उ ।
विदाको एकदिन विहान टोलमा सरसफाइ कार्यक्रम
सञ्चालन भयो । आफ्नै गाउँपालिकाको अध्यक्ष पनि उक्त कार्यक्रममा एकछिन सहभागी भएको
थियो । जे होस् विहानभरि सरसफाइमा खट्नेलाई राम्रै उर्जा मिलेको थियो । रमिन्द्र
पनि सो कार्यक्रममा एकछिन सहभागी हुन पुग्यो । अध्यक्षज्यूलाई अनुरोध गरी सरसफाइ
गरिरहेका व्यक्तिहरुलाई पृष्टभूमिमा पारेर एउटा सेल्फी खिच्न भ्यायो उसले ।
साँझपख उसको फेसबुक स्टाटसमा उक्त सेल्फीले स्थान
पायो, क्याप्सनमा लेखिएको थियोः “नेपालको
इतिहासमा नै सबै भन्दा उत्कृष्टढंगले वातावरण संरक्षणमा रात दिन खट्ने, विकासका
लागि सारा देशवासीको लागि एकमात्र नमूना, अद्भूत क्षमता
भएको लोकप्रिय समाजसेवी, गाउँपालिका
अध्यक्षको साथमा टोलको सरसफाइमा खटिदै आज ।”
त्यसपछि देश विदेशमा रहेका एक हुल व्यक्तिले
स्तुतिगानका हरफहरु पालैपालो कमेन्टमा छाड्न थाल्यो । विहानभरि सरसफाइमा खट्ने
टोलबासी जिल्ल परे ।
२०७६ पुस २६, शनिवार








