Thursday, October 6, 2022

शैक्षिक लेखः विद्यालय शिक्षामा अनलाइन कक्षा

विद्यालय शिक्षामा अनलाइन कक्षा 

बटुकलाल तमाङ 
भरतपुर, चितवन 
भूमिका 
कोभिड महामारीको बेलामा बाध्यतावश अनलाइन कक्षाहरुको लहर नै चल्यो । नहुन मामा भन्दा कानु मामा निको भने झै, वैकल्पिक माध्यम बन्यो अनलाइन कक्षाहरु । शिक्षामा प्रविधिको प्रयोग गर्न बाध्य भए शिक्षकहरु । केहीले धेरै प्रविधिसम्बन्धी सीप सिकेर पारंगत पनि भए । केहीले आफूलाई काम चलाउ ढंगले प्रस्तुत गरे, भने एकादलाई खासै प्रभाव परेन, प्रविधि सम्बन्धी कुनै पनि सीप सिक्ने र प्रयोग गर्ने चेष्टा नै गरेन वा सकेन । गुगल मीट, जुम, माइक्रो सफ्ट टीम्स, गुगल क्लास रुम, मेसेञ्जर, आदिजस्ता अनुप्रयोग (एप)हरुको खुब प्रयोग भयो । धेरै जसो एप निशुल्क रुपमा नै प्रयोग गर्न सम्भव भयो । जे जसरी भए पनि अनलाइनको वैकल्पिक माध्यमको कक्षाहरु अधिकांश विद्यालयहरुमा चले । व्यवस्थापनमा चुस्त दुरुस्ताको आधारमा उक्त वैकल्पिक कक्षाहरुको नतिजा पनि फरक फरक आयो । साथ साथमा यसको सकरात्मक र नकरात्मक दुवै खालको प्रभावहरु देखा प¥यो ।
सकरात्मक प्रभावहरु
काभिड १९को महामारीको समयमा विद्यालय तहमा वैकल्पिक शिक्षाको माध्यम बनेको अनलाइन शिक्षाले शिक्षक, विद्यार्थी, अभिभावक र समाजमा पारेको केही सकरात्मक प्रभाव यस्तो देखिन्छ ।
१) धेरै जसो शिक्षकहरुले इन्टरनेट, कम्प्युटर, अनलाइन र अफलाइन डिजिटल अनुप्रयोग (एप)हरुको प्रयोग गर्ने ज्ञान र सीप आर्जन गर्नु भयो । 
२) विद्यार्थीहरुले समेत बुँदा नं. १मा उल्लेखित ज्ञान र सीपसँग साक्षात्कार हुने अवसर पाए । 
३) भौतिक उपस्थितिको सम्भावना नभएको अवस्थामा भैरहेको शैक्षिक क्षतिलाई केही हदसम्म न्यनीकरण गर्न मदत पु¥यायो । 
४) कितावबाहेक ज्ञानको भण्डार डिजिटल संसारमा पनि धेरै ठूलो मात्रामा रहेछ भन्ने जानकारी ठूलो संख्यामा मानिसहरुले प्रत्यक्ष अनुभव गर्न पाए । 
५) विभिन्न एपहरु, इन्टरनेट सेवा, टेलिकम डाटा, डिजिटल डिभाइसहरु जस्तैः नयाँ तथा पुरानो स्मार्ट फोन, डेस्कटप कम्प्युटर, ल्यापटप, ट्याब्लेट, आदिको व्यापारमा ठूलोमात्रमा वृद्धि भयो । 
६) विद्यालय आउदा जाँदाको समय बचत, खाजा खर्चमा बचत, विद्यालयको भौतिक सम्पत्तिको क्षति तथा ह्रासमा कमी, विद्यालयको विद्युत महसुल, स्टेशनरी, मसलन्द खर्च आदिमा बचत, शिक्षकहरुले घरैमा बसी कक्षा सञ्चालन गर्न मिलेको विविध खर्चमा कटौती । 
नकरात्मक प्रभावहरु 
१) मोबाइल फोन र टेलिभिजन आदि डिजिटल डिभाइसको अत्याधिक प्रयोगको कुलत विद्यार्थीहरुमा हालसम्म पनि देखा परिरहेको छ । जसले गर्दा उनीहरु पुस्तक अध्ययन गर्न, गृहकार्य गर्न ध्यान नदिने, बढी भन्दा बढी समय मोबाइलमा सामाजिक सञ्जालमा, टिकटकमा, र भर्चुअल गेम खेलेर भुलेर समयको दुरुपयोग गरिरहेका छन् । 
२) आर्थिक स्तर ज्यादै कमजोर भएका अभिभावक तथा विद्यार्थीहरुले सामान्य मोबाइल समेत खरिद गर्न नसक्दा बैकल्पिक शिक्षाबाट बञ्चित भएको र हिनताबोधको शिकार भै मानसिक असर समेत परेको देखिन्छ । 
३) दुर्गम स्थानहरुमा इन्टरनेटको र डिजिटल डिभाइसहरुको पहँुच नभएकोले त्यहाँका विद्यार्थीहरु यस प्रकारको वैकल्पिक शिक्षाबाट बञ्चित हुनु परेको । 
४) अनलाइन शिक्षाको आधारभूत सीप समेत ग्रहण गर्न नसक्ने शिक्षकहरुको विषयमा विद्यार्थीहरुले शैक्षिक क्षति व्यहोर्नु परेको । 
५) घरमा एक्ला एक्लै बसी अध्ययन गर्नु पर्दा सहपाठीहरुबाट सिक्न पाउने औचारिक तथा अनौपचारिक शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुनु परेको । 
६) सही व्यवस्थापन र अनुगमनको अभावमा अनलाइन शिक्षा प्रभावकारी नबन्दा, अनलाइन शिक्षाको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको छ । 
के विद्यालय शिक्षामा अनलाइन कक्षा सम्भव छ? 
सम्भव छ । तर प्रभावकारी ढंगले सञ्चालन हुनु जरुरी छ । प्रभावकारी ढंगले सञ्चालन गर्न कम्तीमा शिक्षकले विषयवस्तु सम्प्रेषण गर्ने र विद्यार्थीहरुले उक्त विषयवस्तु ग्रहण गरेको प्रतिविम्वन गृहकार्य वा मूल्यांकन प्रणालीका माध्यमबाट प्रस्तुत गर्ने गरी दुई तर्फीरुपमा ज्ञान सीप लिने र दिने कार्य योजनाबद्ध ढंगले गरिनु पर्छ । तर हालसम्म विद्यालय शिक्षामा भैरहेको अनलाइन कक्षाहरुमा शिक्षकले विषयवस्तुको सम्प्रेषण गर्ने गरी एक तर्फीमात्र भैरहेको छ । विद्यार्थीले के के गृहकार्य वा असाइनमेन्ट तयारी गरी बुझाएमा कति अंक वा ग्रेड पाउने भनी कुनै पुर्व योजना नै नबनाई एकहोरो शिक्षकले पढाउने काम मात्र भैरहेको छ । त्यसैले अनलाइन कक्षाहरु प्रभावहीन भैरहेको छ ।
प्रयोग हुने एप, सफ्टवेयर र वेभसाइटहरु 
(क) अनलाइनः इन्टरनेट सेवाको आवश्यकता पर्ने एप, सफ्टवेयर र वेभसाइटहरु अनलाइन अन्तर्गत पर्दछ । 
१) Messenger: सन २०११ अगस्त ९मा सुरुवात भएको यस सफ्टवेयर, मेसेञ्जरमा कक्षागतरुपमा समूह सिर्जना गरी सूचना आदान प्रदान गर्न प्रयोग गर्न सकिन्छ । 
२) WhatsApp: सन् २००९ जनवरीमा सुरु भएको यो एप मोबाइलमा मोवाइल नं.को आधारमा अकाउण्ट खोल्न मिल्ने भएकोले कक्षागत समूहहरु बनाई सूचना आदान प्रदान गर्न प्रयोग गर्न सकिन्छ । 
३) Facebook Page: सन २००४ फेब्रुअरी ४मा अमेरिकन नागरिक मार्क जुकरबर्ग र वहाँको हार्भर्ड कलेजका केही साथीहरुले सुरु गरेको फेसबुक नामक सफ्टवेयर जुन आजको लोकप्रिय सामाजिक सञ्जाल बनेको छ, यसमा उपलब्ध सुविधा फेसबुक अकाउण्ट भन्दा फरक फेसबुक पेज सिर्जना गरी सूचना आदान प्रदान गर्न सकिन्छ । 
४) Microsoft Teams: सन २०१७ मार्च १४बाट सञ्चालनमा आएको यो सफ्टवेयर अनलाइन कक्षाको एउटा सिंगो विद्यालयको रुप हो माइक्रोसफ्ट टीम्स एप । विद्यालयको नाममा वेबसाइट खोलिएको हुनु पर्दछ, अनि विद्यालयको वेबसाइटको डुमेन नेमबाट माइक्रोसफ्टलाई इमेलमार्फत अनुरोध गरी विद्यालयहरुले निशुल्क रुपमा यो सेवा उपभोग गर्न सक्दछ । यसमा एकै पटकमा सयौ कक्षाहरु छुट्टा छुट्टै सञ्चालन गर्न मिल्ने भएकोले अनलाइन कक्षा सञ्चालन गर्ने सबैभन्दा राम्रो एप बनेको छ । अर्थात एउटा विद्यालयमा पूर्व प्राथमिक देखि कक्षा १२सम्म मानौ ३० वटा सेक्सनहरु छन् भने एकै पटकमा तीसवटै सेक्सनको कक्षाहरु सजिलै सञ्चालन गर्न सकिन्छ । यसका लागि छुट्टै एडमिन वा होस्ट वा कोहोस्टको आवश्यकता पर्दैन । शिक्षक स्वयम्ले यी सबै भूमिका एकसाथ सजिलै निर्वाह गर्न सक्दछ । यसमा सहभागी हुनकोलागि विद्यालयले माइक्रोसफ्ट टीम्सबाट निशुल्क प्राप्त डुमेनको प्रयोग गरी सबै शिक्षक र विद्यार्थीहरुको इमेल अकाउण्ट खोल्न जरुरी हुन्छ । जस्तै, रुपक आले नाम गरेको विद्यार्थीको अन्नपूर्णा मा.वि.को डुमेनमा यस्तो इमेल अकाउण्ट हुन सक्छ — rupak@annapurnamavi.edu.np । उसको युजर नेम यही हुन्छ भने, पासवर्ड पनि विद्यालयले उपलब्ध गराउँदछ । यही युजर नेम र पासवर्डको प्रयोग गरी कुनै पनि मोबाइल वा कम्प्युटरबाट सजिलैसँग तोकिएको समयमा तोकिएको कक्षाहरु लिन सकिन्छ । तर उक्त मोबाइल वा कम्प्युटरमा माइक्रोसफ्ट टीम्सको एप इन्स्टल गरिएको हुनु पर्दछ । यसमा कुनै पनि लिंकबाट प्रवेश गर्न मिल्दैन । कुनै सेक्सनको समूहमा विद्यालयको एडमिनले जतिजनालाई एड गरेको छ, त्यतिजनाले मात्र उक्त कक्षामा भाग लिन पाउनेछ, तसर्थ यस एपमा अनावश्यक र अनधिकृत व्यक्तिको प्रवेश हुने गुञ्जायस रहदैन । यसको सबैभन्दा राम्रो पक्षहरुमाः विद्यार्थीको हाजिरी यो एपले नै एक्सेलमा तयारी गरिदिने हो । को कति कति बेलामा प्रवेश ग¥यो र बाहरियो भन्ने पटक पटकको अभिलेख दुरुस्त देखाउँदछ । असाइनमेन्ट बुझाउने सेक्सनगत र विषयगतरुपमा छुट्टै फोल्डर हुन्छ । को कसले असाइनमेन्ट बुझायो वा बुझाएन स्पष्ट देखाउछ । त्यसमा शिक्षकले परीक्षण पश्चात ग्रेड चढाउन पनि मिल्दछ, जुन ग्रेड उक्त कक्षाका सबैले देख्न सक्दछ । कुनै सामुहिक सूचना राख्नु प¥यो भने पनि एकै पटकमा सबैजनाले देख्न मिल्ने समूहमा राख्न सकिन्छ । शिक्षक कर्मचारीहरुको मात्र एउटा छुट्टै समूह बनाई अनलाइन मीटिङ बस्न पनि सकिन्छ । विद्यार्थीहरुलाई आवश्यक पर्ने अध्ययन सामग्रीहरुको फाइल, पीडीएफ, वर्ड, एक्सेल, जेपीजी, पावरपोइन्ट स्लाइड, अडियो फाइल, भिडियो फाइल आदि पनि अपलोड गरिराख्न सकिन्छ । विद्यार्थी तथा शिक्षकहरुले उक्त इमेल अकाउण्टको प्रयोग गरी सूचना आदान प्रदान पनि गर्न सक्दछ । तर विद्यालयको एडमिनले उक्त इमेल अकाउण्ट हटाइदिएको खण्डमा उक्त अकाउण्टबाट केही पनि गर्न मिल्दैन । 
५) Google Meet: ठूलो समूहमा सूचना सञ्चारकोलागि गुगलले सन् २०१७ मार्च ९मा सुरुवात गरेको यस निशुल्क सटवेयर अनलाइन कक्षा सञ्चालनको लागि बरदान सावित भएको छ । निशुल्करुपमा उपलब्ध भर्सनले असिमित समयसम्म ठूलो समूहमा भिडियो कन्फेरेन्स गर्न र स्लाइड तथा भिडियो समेत सबैले देख्न मिल्ने गरी शेयर गर्न मिल्ने भएकोले गुगल मीट एप लोकप्रिय भएको छ । 
६) Google Classroom: गुगलले सन् २०१४ अगस्त १२मा सुरुवात गरेको एक लोकप्रिय सिकाइ व्यवस्थापन प्रणाली (Learning Management System/ LMS) हो गुगल क्लास रुम । निशुल्क रुपमा प्रयोग गर्न मिल्ने यस वेबसाइटबाट गुगल क्यालेण्डरको प्रयोग गरी विभिन्न सेक्सनहरुको समूह बनाई मीटिङ शेड्युलिङ गरी भर्चुअल कक्षा (गुगल मीटमा) सञ्चालन synchronous mode मा (शिक्षक र विद्यार्थीहरु एकै समयमा कुराकानी गरी सिक्न सिकाउन मिल्ने अवस्था) मा गर्न मिल्दछ । गृहकार्य वा असाइनमेन्टहरु प्रदान गरी asynchronous mode मा (शिक्षकले अभ्यासहरु उपलब्ध गराउने र विद्यार्थीहरुले आफ्नो अनुकूल समयमा उक्त अभ्यास वा सामग्रीहरु अध्ययन गरी उपयोग गर्ने अवस्थामा) विद्यार्थीहरुले असाइनमेन्ट अपलोड गर्ने र शिक्षकले उक्त असाइनमेन्टलाई ग्रेड उपलब्ध गराउन मिल्ने व्यवस्था समेत गुगल क्लासरुम एपमा उपलब्ध छ । 
७) ZOOM Cloud Meetings: सन् २०११मा स्थापना भै सन् २०१३देखि सञ्चालनमा आएको यस सफ्टवेयरको प्रयोग सन् २०२० को सुरुवातमा अर्थात कोभिड १९को महामारीको समय व्यापकरुपमा भयो । अनलाइन कक्षाहरु सञ्चालन गर्न शैक्षिक संस्थाहरुले यसको निशुल्क भर्सन र खरिद गरिएको भर्सन दुवैलाई व्यापक रुपमा प्रयोग गरेको पाइन्छ । Synchronous learning को लागि प्रयोग गरिने यो एप तथा सफ्टवेयरमा गुगल मीटमा जस्तै समूहमा भिडियो कन्फेरेन्स गर्न र स्लाइड तथा भिडियो समेत सबैले देख्न मिल्ने गरी शेयर गर्न मिल्दछ । निशुल्क भर्सनमा ४० मिनेटसम्ममात्र लगातार भिडियो कन्फरेन्सको सुविधा छ भने खरिद गरिएको भर्सनमा असिमित समयसम्म भिडियो कन्फरेन्स गर्न मिल्ने सुविधा उपलब्ध छ । समूह समूहमा छलफल गर्न break out room को सुविधा समेत यस एपमा राखिएको छ । 
८) Blogs: ब्लग पनि एक प्रकारको वेबसाइट नै हो । विभिन्न बेबसाइटहरुले निशुल्क रुपमा र बनिबनाउ फ्रेममा सजिलै विभिन्न सूचना तथा जानकारीहरु पोस्ट गर्न मिल्ने र उक्त पोस्टहरुमा कमेन्ट समेत गर्न मिल्ने भएकोले अनलाइन शिक्षामा ब्लगलाई शिक्षक तथा विद्यार्थीहरुले सिकाइ कार्यमा प्रयोग गरी धेरै लाभ लिन सक्दछ । उत्कृष्ट अनि निशुल्क रुपमा ब्लग बनाउन सेवा प्रदान गर्ने केही वेबसाइटहरु यस प्रकार छन्ः blogger.com, wordpress.com, wordpress.org, wix.com, weebly.com, medium.com, tumblr.com. ghost.com, linkedin.com, आदि । हामीले तयार गरेको हाम्रो व्यक्तिगत ब्लगमा नेपाली, अंग्रेजी लगायत विभिन्न भाषामा जानकारीहरु तथा क्लास नोट्स, तस्वीरहरु, भिडियो फाइलहरु, विभिन्न वेबसाइट तथा युट्युब भिडियोको लिंकहरु अपलोड गर्न सक्छौं । शिक्षकको व्यक्तिगत ब्लगमा आफ्ना विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण पाठ्यसामग्रीहरु अपलोड गरी राख्न सकिन्छ र उक्त ब्लगको अड्रेस एक पटक विद्यार्थीलाई शेयर गरे पछि उनीहरुले आफ्नो अनुकूल समयमा घरैमा बसी ती पाठ्यसामग्रीहरु अध्ययन गरी लाभ लिन सक्दछ । त्यसै गरी विद्यार्थीहरुले पनि आफ्नो व्यक्तिगत ब्लग सिर्जना गरी असाइनमेन्टहरु र आफुलाई आवश्यक पर्ने असाइमेन्टहरु अपलोड गर्न सक्दछ । ब्लग अनलाइन शिक्षामा asynchronous mode मा सबैभन्दा बढी प्रयोग हुने सफ्टवेयर अन्तर्गत पर्दछ । 
९) YouTube: सन् २००५ फेब्रुअरी १४मा स्थापना भएको युट्युब डट कम हाल गुगलको स्वामित्वमा रहेको छ । सबै क्षेत्रको विषयवस्तुहरु विभिन्न विज्ञहरुद्वारा तयार पारिएको सूचनामूलक भिडियोहरु छानी छानी हेर्न पाउनु अहिलेको समयमा शिक्षा क्षेत्रकोलागि ठूलो वरदान हो । शिक्षक र विद्यार्थीहरुले समेत आफ्नै व्यक्तिगत युट्युब च्यानल सिर्जना गरी आवश्यक पर्ने विषयवस्तुहरुको प्रस्तुतिकरण, असाइनमेन्ट, प्रोजेक्टवर्कको रिपोर्ट आदिको भिडियो बनाइ अपलोड गरिराख्न सक्दछ । 
१०) Nearpod: निअरपोड एप तथा वेबसाइटको प्रयोग गरी अनलाइनमा विभिन्न विषयवस्तुहरु प्रस्तुत गर्न र अभ्यास गर्न निकै उपयोगी हुन्छ । यो एपको सुरुवात सन् २०१२मा भएको हो । यसबाट कक्षाकोठामा गरिने अभ्यास वास्तवमै निकै आकर्षक छ । विद्यार्थीहरुले यस एपमार्फत सिक्न निकै चाख राख्ने गरेको पाइन्छ । 
११) Quizizz: सन् २०१५मा भारतबाट सुरु भएको यो एपमा विभिन्न विषयहरुको विषयवस्तुहरुलाई अभ्यास चरणमा गरिने क्रियाकलाप अनलाइन क्विज जस्तै खेलको माध्यमबाट सिकाउन धेरै आकर्षक र चाखलाग्दो हुन्छ । यसमा कुनै विषयवस्तु अध्यापन गराइसके पछि उक्त विषयवस्तुहरुको वहुवैकल्पिक प्रश्नहरुको प्रयोग गरी अभ्यास गर्न र मूल्यांकन गर्न ज्यादै रमाइलो हुन्छ । सिक्दा समय बितेको थाहा नै हुदैन । यसमा भएको अभ्यासहरु समय अवधि तोकेर असाइनमेन्टको रुपमा दिन पनि मिल्छ । विद्यार्थीले दिएको उत्तर मिले वा नमिलेको तत्कालै विद्यार्थीलाई पृष्ठपोषण दिने सुविधा यसको आकर्षक विशेषतामा पर्दछ । उनीहरुको उत्तरहरु वर्षौंसम्म शिक्षकको क्विजिज अकाउण्टमा सुरक्षित भण्डारण गरिराख्न मिल्छ र कुनै पनि समयमा अभिभावकलाई प्रश्नहरु, विद्यार्थीले दिएको जवाफ सही वा गलत, उसले प्राप्त गरेका स्कोर आदि तुरुन्तै इमेलबाट पठाउन पनि मिल्छ । स्कोरको आधारमा प्रथम, द्वितीय, तृतीय आदि क्रम पनि छुट्याएर देखाउदछ । 
१२) Google Form: गुगलले निशुल्क उपलब्ध गराउने उपयोगी सफ्टवेयरहरुमध्ये गुगल फर्मले आफुले तयार गरेको प्रश्नावलीहरुको प्रयोग गरी अनलाइन सर्बेक्षण कार्य गर्न सहयोग गर्दछ । यस एप वा सफ्टवेयरलाई अनलाइन शिक्षामा प्रयोग गर्न पनि सकिन्छ । अनलाइनमा विद्यार्थी अभ्यास गर्न, मूल्यांकन गर्न, क्वीज खेलाउन यो निकै प्रभावकारी मानिन्छ । 
१३) Other Google Tools: गुगलले उपलब्ध गराउने विभिन्न सुविधाजनक अन्य अनलाइन सफ्टवेयर तथा एपहरु यस प्रकार छन्ः Google Drive (पीडीए, वर्ड, एक्सेल, पावरपोइन्ट स्लाइड, फोटो, भिडियो तथा अडियो फाइलहरु अनलाइन भण्डारण गरिराख्न), Google Photo (फोटो तथा भिडियो फाइलहरु अनलाइन भण्डारण गरिराख्न), Google Lens (कुनै पनि तस्वीर वा वास्तविक वस्तु के हो जानकारी लिन), Google Docs (अनलाइन वर्ड फाइल), Google Sheets (अनलाइन एक्सेल फाइल), Google Slides (अनलाइन पावरपोइन्ट स्लाइड), Google Jamboard (अनलाइन डिजिटल इन्टराक्टिभ ह्वाइटबोर्ड), Google Map (विभिन्न स्थानहरुको वास्तविक लोकेशन हेर्न), Google Earth (विभिन्न स्थानहरुको वास्तविक सेटलाइटबाट खिचिएको लोकेशन हेर्न) Google Translate (नेपाली, अंग्रेजी लगायत हालसम्म १३३ भाषामा शब्द तथा वाक्यहरु उल्था गरी अर्थ हेर्न) Google Book (विभिन्न संसार प्रसिद्ध पुस्तकहरु निशुल्करुपमा डिजिटल कपी हेर्न र डाउनलोड गर्न), Google Podcast (विभिन्न शो एपिसोडहरु सुन्न र सुनाइ सीपको विकास गर्न) । 
१४) Some Other Useful Websites: learning.cehrd.edu.np र looma.website (शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा कक्षा १ देखि कक्षा १२सम्मकोलागि तयार गरिएको विभिन्न विषयहरुको डिजिटल सामग्रीहरु), pustakalaya.org (नेपालको ठूलो डिजिटल लाइब्रेरी), letsreadasia.org (डिजिटल लाइब्रेरी), http://202.45.146.138/catalog/opac_css/ (पाठ्यक्रम विकास केन्द्रको डिजिटल लाइब्रेरी) http://nkcs.org.np/neblibrary/catalog/opac_css/ (राष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ र १२को डिजिटल लाइब्रेरी), literacycloud.org (रुम टु रीड नामक संस्थाको डिजिटल लाइब्रेरी), moecdc.gov.np (पाठ्यक्रम विकास केन्द्र नेपालको वेबसाइट) 
१५) www.youtube.com/c/NCEDVirtual (कक्षा १ देखि कक्षा १०सम्मका विभिन्न विषयहरुको श्रब्यदृश्य कक्षाहरु हेर्न) 
(ख) अफलाइनः इन्टरनेट सेवाको आवश्यकता नपर्ने एप र सफ्टवेयर अफलाइन अन्तर्गत पर्दछ । 
१) Microsoft Word: (क्लास नोट, प्रश्नपत्रहरु तयारी गर्न, विभिन्न सूचना तथा जानकारीहरु तयार गर्न) 
२) Microsoft Excel: (विद्यार्थीहरुको मूल्यांकनको अभिलेख राख्नः पास, फेल, क्रम निर्धारण, प्रतिशत, कूल प्राप्तांक, औसत उपलब्धि, मार्कशीट, ग्रेडशीट, तलबी विवरण, आम्दानी खर्चको हिसाव, आदि तयार गर्न) 
३) Microsoft PowerPoint: (कक्षामा विषयवस्तु आकर्षक र चलायमान ढंगले देखाउन स्लाइडको तयारी गर्न, क्वीज खेलाउन) 
४) Adobe Photoshop: (तस्वीरहरु सम्पादन गर्न) 
५) Adobe Acrobat Pro DC: (क्लास नोट, प्रश्नपत्रहरु, विभिन्न सूचना तथा जानकारीहरु सेटिङ तथा फरम्याट नबिग्रने गरी तयार गरी राख्न) 
६) Cool Edit Pro 2.0: (गुणस्तरीय अडियो फाइल रेकर्ड गर्न र सम्पादन गर्न) 
७) Audacity: (गुणस्तरीय अडियो फाइल रेकर्ड गर्न र सम्पादन गर्न) 
८) OBS Studio: (कम्प्युटर डेस्कटप स्क्रीनमा प्रस्तुत गरिएको स्लाइड प्रस्तुति तथा सबै गतिविधिहरुको अडियो र भिडियो रेकर्ड गर्न) 
९) Snipping Tool: (डेस्कटप स्क्रीनमा देखिएको दृश्यलाई क्रप गरी सोझै फोटो इमेज वा जेपीजी फरम्याटमा तयार गर्न) 
प्रभावकारी प्रयोग 
विद्यालय शिक्षामा अनलाइन कक्षालाई प्रभावकारी बनाउन केही सुझावहरु यस प्रकार छन् । 
१) विद्यालय प्रशासनले सबै विषयहरु र सबै शिक्षकहरुको कक्षाहरु समेटेर समय तालिका तयार गर्ने र सरोकारवाला सबैलाई वितरण गर्ने । पठन पाठन, एकाइ परीक्षा, त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाकलाप, विदा, आदि सबै समावेश गरी बार्षिक शैक्षिक क्यालेण्डर शैक्षिकसत्रको सुरुमा नै सबै शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुसमक्ष सुसूचित गराउने । 
२) विद्यालय प्रशासन र एडमिनले बेला बेलामा अनलाइन कक्षाहरुमा प्रवेश गरी अनुगमन तथा अवलोकन गर्ने 
३) विद्यालय प्रशासनले हरेक सेक्सनको लागि कक्षा शिक्षक तोकी दिने । कक्षा शिक्षकले सो कक्षाको उपस्थिति, नतिजा तयारी, अतिरिक्त क्रियाकलापमा सहभागी गराउने, सूचना प्रवाह गर्ने, लगायत समग्र क्रियाकलापहरुको जिम्मा लिनु पर्ने, अभिलेखीकरण गर्नु पर्ने । सूचना तथा जानकारीहरु आदानप्रदान गर्न सहज होस भनी हरेक सेक्सन वा कक्षाको एक एकवटा मेसेञ्जर ग्रुप वा ह्वाट्सएप ग्रुप तयार गरी प्रयोगमा ल्याउने । 
४) अनलाइन कक्षालाई प्रभावकारी बनाउने प्रमुख तत्वमा विषय शिक्षक नै पर्दछ । एकोहोरो विषयवस्तु मात्रै सम्प्रेषण गरिरहने तर आफूले सम्प्रेषण गरेको विषयवस्तु विद्यार्थीले कति ग्रहण ग¥यो भनी मूल्यांकन गरी अभिलेख राख्ने काम गरेन भने र सिकाइ ग्रहण गर्न नसकेका विद्यार्थीहरुको पहिचान गरी उपचारात्मक कक्षा सञ्चालन नगर्ने हो भने अनलाइन कक्षा सबै भन्दा खराब बन्न पुग्छ । तसर्थ विषय शिक्षकले आफूले अध्यापन गराउने हरेक कक्षा र विषयको वार्षिक पाठयोजना शैक्षिक सत्र सुरु हुनु भन्दा अगावै विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डरअनुसार तयार गर्नु पर्ने हुन्छ । विषय शिक्षकले तयार गरेको वार्षिक पाठ योजनामा कुन हप्तामा कुन कुन विषयवस्तु सिकाउने हो सो को स्पष्ट खाका, पाठको अन्त्यमा इकाई परीक्षा आफ्नै व्यक्तिगत कक्षामा लिने तालिका, उक्त इकाई परीक्षाको अंकभार, त्रैमासिक परीक्षाहरुमा सोधिने विषयवस्तुहरुको खाका, परियोजना कार्य, प्रतिवेदन लेखन, आदि जस्ता पाठ्यक्रमले तोकीदिएको मूल्यांकनको साधानहरु प्रयोग गर्ने तिथिमिति र अंकभार, आदि कुराहरु शैक्षिक सत्रको सुरुमा नै विद्यार्थीहरु र अभिभावकहरु अनि विद्यालय प्रशासनलाई उलपब्ध गराउनु पर्ने हुन्छ । 
५) रुब्रिक्सको प्रयोगः विषय शिक्षकले विभिन्न विषयवस्तुहरुको मूल्यांकनको बँुदागत सिमाहरु तयार गर्नु पर्ने हुन्छ, जसलाई रुब्रिक्स ९च्गदचष्अक० भनिन्छ । यो ःबचपष्लन कअजझभक कै विस्तृत रुप हो । यसले विद्यार्थीहरुलाई उत्तर लेख्दा अनुशरण गर्नु पर्ने बुँदाहरु स्पष्ट तोकी दिएको हुन्छ र यसैको आधारमा उनीहरुले उत्कृष्ट उत्तर दिन सहज बनाउँदछ । यो रुब्रिक्सहरु विद्यार्थीहरु र अभिभावकहरुले शैक्षिक सत्रको सुरुमा नै पाउनु पर्छ । 
६) विद्यार्थीहरुले विद्यालयले उपलब्ध गराएको वार्षिक शैक्षिक क्यालेण्डर र विषय शिक्षकहरुले उपलब्ध गराएको वार्षिक पाठ योजना अनि रुब्रिक्सअनुसार आफुलाई उच्चतम ग्रेड आउने गरी तोकिएको समय सिमाभित्र तयारी गर्नु पर्दछ । अनलाइन कक्षा नियमित हुनु पर्दछ । नजानेका विषयवस्तुहरु सहपाठीसँग सिक्ने, शिक्षकसँग सिक्ने, विभिन्न अनलाइन सामग्रीहरु अध्ययन गरी तोकिएकै समय भित्र सिकाइ कार्य सम्पन्न गर्नु पर्दछ । तर विद्यार्थीहरुले तोकिएको शैक्षिक क्रियाकपालहरु भन्दा अन्य गैर शैक्षिक क्रियाकलापहरु जस्तैः खेल खेल्ने, सामाजिक सञ्जालमा अनावश्यक समय व्यतित गर्ने जस्ता गलत कार्यहरु गर्नु हुदैन । 
७) अभिभावकहरुले आफ्ना बालबच्चाहरुको शिक्षाकोलागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु, डिजिटल उपकरण, इन्टरनेट वा डाटाको व्यवस्थापन समयमा नै गरिदिनु पर्दछ । आफ्ना बालबच्चाहरु डिजिटल सामग्रीको प्रयोग गरी शैक्षिक क्रियाकलापमा संलग्न छ वा गैर शैक्षिक क्रियाकलापमा संलग्न छ, अभिभावकहरुले दैनिक निगरानी राख्नु पर्दछ । नियमित उपस्थित भै नियमित असाइनमेन्टहरु बुझाए वा नबुझाएकोबारेमा विषय शिक्षकहरुसँग सम्पर्क राखी नियमितरुपमा जानकारी लिइराख्नु पर्दछ । 
८) सम्बन्धित अन्य सरोकारवालाहरुले पनि विद्यालय वा विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु तथा डिजिटल उपकरणहरु, सफ्टवेयरहरु र इन्टरनेट व्यवस्थापनमा सहयोग पु¥याउनु पर्दछ । नियमित निगरानी तथा अनुगमन पनि गरी सम्बन्धित पक्षलाई पृष्ठपोषण दिनु पर्दछ । 
निष्कर्ष 
अनलाइन कक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने हो भने यो कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अत्यन्तै राम्रो माध्यम बन्दछ । यद्यापि भौतिकरुपमा भेला भै सहपाठीहरुबाट पनि सिक्न सकिने जीवनोपयोगी ज्ञान, अनुभव र सीप प्राप्तिको अवसर भने अनलाइन शिक्षामा कम हुन्छ । तर महामारीको समयचाहि यो अति उत्तम माध्यम हो ।
 धन्यवाद ! २०७९ भदाै

Wednesday, May 26, 2021

लघुकथाः अाधुनिक दास

९) आधुनिक दास

–बटुकलाल तमाङ

रमिन्द्रले देश विदेशको खबरमा चासो राख्छ । देशको प्रत्येक घटनाको रेकर्ड बुझ्न उ कहाँ गए फरक पर्दैन । उ आफुलाई सर्वज्ञ भन्न पनि पछि पर्दैन । देश परिवर्तन हुन के के हुनु पर्दछ उसलाई मुखाग्र छ । सबैले अग्रगामी सोच राखेमात्रै देशको विकासले छलाङ मार्छ – भन्छ उ ।

विदाको एकदिन विहान टोलमा सरसफाइ कार्यक्रम सञ्चालन भयो । आफ्नै गाउँपालिकाको अध्यक्ष पनि उक्त कार्यक्रममा एकछिन सहभागी भएको थियो । जे होस् विहानभरि सरसफाइमा खट्नेलाई राम्रै उर्जा मिलेको थियो । रमिन्द्र पनि सो कार्यक्रममा एकछिन सहभागी हुन पुग्यो । अध्यक्षज्यूलाई अनुरोध गरी सरसफाइ गरिरहेका व्यक्तिहरुलाई पृष्टभूमिमा पारेर एउटा सेल्फी खिच्न भ्यायो उसले ।

साँझपख उसको फेसबुक स्टाटसमा उक्त सेल्फीले स्थान पायो, क्याप्सनमा लेखिएको थियोः “नेपालको इतिहासमा नै सबै भन्दा उत्कृष्टढंगले वातावरण संरक्षणमा रात दिन खट्ने, विकासका लागि सारा देशवासीको लागि एकमात्र नमूना, अद्भूत क्षमता भएको लोकप्रिय समाजसेवी, गाउँपालिका अध्यक्षको साथमा टोलको सरसफाइमा खटिदै आज ।”

त्यसपछि देश विदेशमा रहेका एक हुल व्यक्तिले स्तुतिगानका हरफहरु पालैपालो कमेन्टमा छाड्न थाल्यो । विहानभरि सरसफाइमा खट्ने टोलबासी जिल्ल परे ।
२०७६ पुस २६, शनिवार


लघुकथाः नयाँ शिक्षा

८) नयाँ शिक्षा

–बटुकलाल तमाङ
सत्र वर्ष सेनामा सेवा गरे पश्चात एउटा बैंकमा सुरक्षाकर्मीको रुपमा दोस्रो जागिर सुरु गरेको पनि पिताम्बरले पच्चिस वर्ष पुगि सकेछ । उ बेलामा कक्षा ७ भन्दामाथि पढ्न सकेन घरको अवस्थाले ।
एकदिन सधैंजसो ऊ बैंकको ढोकामा सुरक्षार्थ खटी रहेको थियो । एकजना युवक उसको नजिकै खाली भौचर लिएर आयो । “अंकल, बाबाको खातामा पैसा जम्मा गर्नु थियो । यो भौचर कसरी भर्ने होला ?”
पिताम्बरले युवकलाई माथिदेखि तलसम्म नियाल्दै सोध्यो, “कति कक्षामा पढ्दै छौ, बाबु ?”
युवक बोल्यो, “प्लस टु म्यानेजमेन्ट पढ्दै छु, अंकल ।”
बुढो सुरक्षाकर्मीको प्रश्नवाची हेराई देखे पछि युवकले थप्यो, “हाम्रो नयाँ शिक्षामा यस्तो कुरा पढ्नु पर्दैन क्या, अंकल ।”
पिताम्बर चुपचाप उसको भौचर भरी दिन्छ ।
२०७६ असोज २८, मंगलवार



लघुकथाः न्यायधीश

७) न्यायधीश

–बटुकलाल तमाङ

एकदिन प्रकृति र अविष्कारको चिहानमा जम्काभेट भयो । अविष्कारले दुईमा को ठूलो भनी बहस छेडी हाल्यो । प्रकृति भन्दै थिइन्, “को ठूलो हो त्यो त मलाई थाहा छैन, तर यस धरामा पहिला आएकीचाहि म हुँ है ।”

अविष्कार कुर्लियो, “अघि आउँदैमा ठूलो भइन्छ र, त्यो त जगतले मान्नु प¥यो नि ठूलो भनेर । म त सिर्जनाको पिता हुँ ।”

प्रकृति मधुर स्वरमा बोलिन्, “त्यसो त मेरी सन्तानको नाम पनि सिर्जना नै हो तर तपाईको जस्तो कृतिम हैन । र म यसको विज्ञापन पनि गर्दिन तपाईले झैं ।”

अविष्कारले तर्क अघि सा¥यो, “तपाईको सन्तान भन्दा मेरो सन्तान मानवलाई बढी मनपर्छ, लोकप्रिय छ ।”

त्यही बखत भर्खरै दाहसंस्कार कर्म सकिएको मानव देखा प¥यो । अविष्कारले प्रस्ताव राख्यो, “ल त्यसो भए हामी दुईमा को ठूलो भनी यही मानवलाई सोधौं ।”

मानवले आफ्नो विचार राख्यो, “जीवनभरि अविष्कारकै सन्तानलाई माया गरियो, उनले मलाई हित अहित दुवै गरिन्, ठूलो भूल भएछ । प्रकृतिकी सन्तानले मेरो कहिल्यै अहित गरिन, तै पनि उनको विनाश गर्दै गएँ, ठूलो भूल भएछ । त्यसैले अकालमै म यहाँ छु ।”
२०७६ असोज ०५, अाइतवार


मेरो अनुभूतिः दोष कसको ?

दोष कसको ?
– बटुकलाल तमाङ
हामी नेपाल भन्ने स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न देशमा बस्दछौं । मध्य दक्षिण देशहरु सिंगापुर, मलेसिया, ब्रुनाइ, इण्डोनेसिया, अनि बेलायतमा हामीलाई नेपाली भन्दा पनि ‘गुर्खा’ भनी सहज रुपमा चिन्दछ । अमेरिका लगायत अन्य धेरै देशका आम नागरिकहरुलाई नेपाल भन्ने देशको बारेमा थाहा छैन, बरु विश्वको सबै भन्दा अग्लो चुचुरो माउन्ट एभरेष्ट र बुध्दको बारेमाचाहि जानकारी छ उनीहरुलाई ।
विगत १०, १२वर्ष यता देशमा नयाँ संविधानसँगै नयाँ नेपालको आशा बोकी रहेका हामी नेपालीका छोराहरु अलिक राम्रो पढाइ भए अमेरिका, अष्ट्रलिया र युरोपको अध्ययन भिजामा दिनहुँ हुलका हुल बाहिरिएका छन् । छोरीहरुको पढाइ राम्रो भए सक्कली वा नक्कली श्रीमानलाई डिपेन्डेण्ट भिजामा साथ लिई अष्ट्रेलियामा अध्ययन गर्न जानेहरुको लर्को पनि उत्तिकै ठूलो छ । उतै पीआर लिई प्रायः नफर्किने गरी बस्दैछन् उनीहरु । हिजो आज त कक्षा १२ उत्तीर्ण हुनासाथ छोरा होस् वा छोरी जापान जान हतार हुने गरेको छ ।
यसरी नेपाली छोरा छोरीहरु विदेशिएको दिन जिन्दगीको सबै भन्दा ठूलो सफलता हासिल गरेको दिन झै मानी खुसी हुन्छन् बाबु आमा, अनि छोरा छोरी खुसी नहुने त कुरै भएन ।
हिजो मात्रै पल्लो गाउँमा एक वृद्ध महिला घरमा एक्लै भएको अवस्थामा लुटेरहरुले गहना लुट्ने क्रममा उनको हत्या गरिदियो । चार छोराहरु मध्ये एकजना अष्ट्रेलिया अनि तीनजना जापान । घरमा सन्तान भएको भए शायद यो अवस्था आउँदैनथ्यो की ?
अहिले नेपाल भन्ने देशमा धेरै वृद्धाहरु सन्तान भएर पनि सन्तान विहिन झै बस्नु परेको छ । उत्कृष्ठ जनशक्ति पलायन हुने क्रम बढ्दो छ । यो अवस्था आउनुको दोष कसको ? सुखद् भविष्यको चाहना राख्ने छोरा छोरीको ? वा, छोरा छोरीको उज्वल भविष्य चिताउने बाबुआमाको ? वा, युवाहरुलाई देशभित्रै सुखद् र सुनिश्चित भविष्यप्रति आश्वस्त पार्न नसक्ने राज्य संयन्त्रको ?
२०७६ भदाै


लघुकथाः पतिब्रत

 ६) पतिब्रत

– बटुकलाल तमाङ

चञ्चलीको श्रीमान् मलेसिया गएको पनि ३ वर्ष नाघी सकेको थियो । धेरैअघि एक पटक घर खर्च चलाउन भनी केही रकम पठाएको उनलाई याद छ । दुई वर्ष बितिसक्यो फोनमा समेत सम्पर्क नभएको, घर खर्च पठाउनेको त कुरै नगरौं ।

यता छिमेकी साथी रुपकलाको कुरा भिन्दै छ । उनको श्रीमान् जग्गा दलाली, मनग्गे पैसा यही नेपालमै बसीबसी सजिलै कमाइ राखेकोछ ।

“हेरन रुपकला, आफ्नो त पोइ भनाउँदो पनि बेपत्ता, न फोन छ, न पैसा पठाउँछ । कहिले त लाग्छ, यो एकसरो ज्यान, जुरुक्क उठेर एकातिर हिड्दिउँ की ।”

“ए चञ्चली, के भनेकी तेस्तो । हामी नारी भनेको पतिब्रत हुनुपर्छ । यो हाम्रो पूर्वीय सँस्कार हो । उ अप्ठ्यारोमा परेको होला । सहज भएपछि फोन पनि आउँला, पैसा पनि आउँला । धैर्य गर्नु पर्छ क्या । ”

समय बित्दै गयो । जग्गा किनबेचमा मन्दी आयो । रुपकलाको श्रीमानले आर्थिक दिवालीय व्यहोर्नु प¥यो । भएको घर खेत समेत बैकले लिलामी गर्ने अवस्था आयो । यता चञ्चलीको श्रीमानको अझै अत्तोपत्तो थिएन । तैपनि उनी आशाको त्यान्द्रो समात्दै बसेकी थिइन् ।

एक दिन गाउँभरी हल्ला चल्यो – रुपकला त दुई दुईवटा बच्चा छाडेर एउटा अर्कै पोइला गई अरे ।
२०७६ भदाै २४ मंगलवार




लघुकथाः लाजनीति

 ५) लाजनीति
–बटुकलाल तमाङ
एउटा सामुदायिक विद्यालयको व्यवस्थापन समितिको बैठक चलिरहेको थियो । सदस्य रामनारायणले आफ्नो भनाई राख्यो, “विद्यालय भनेको मन्दिर हो, यसभित्र प्रवेश गर्दा राजनीतिको जुत्ता गेट बाहिरै खोलेर त्यही छाडी आउनु पर्छ ।” सबै सहमत भए उनको महान विचारसँग, अनि होमा हो मिलाए ।
प्रधानाध्यापकले एउटा रिक्त पदमा शिक्षक सरुवा पदस्थापन गरी ल्याउनु पर्ने प्रस्ताव अघि सारे ।
अर्का सदस्य हरिकुमारले आफ्नो भतिजा त्यो पदमा अति योग्य भएकोले उसैलाई घर पायक आउन अवसर दिनु पर्ने राय राखे । अर्का सदस्य कमलाले आफ्नो पार्टीका महेश योग्य भएकोले उसैलाई ल्याउनु पर्ने कुरामा जोड दिइन् । रामनारायणले पनि आफ्नै बुहारीको घर पायक नपरेर साह्रै गाह्रो भएकोले विषय नमिले पनि मिलाएर ल्याउन आग्रह गरे ।
लामो समयसम्म सबैजना आ–आफ्नै तर्कमा अडिग रहिरह्यो । प्रधानाध्यापकको “हाम्रो मान्छे हैन राम्रो मान्छे ल्याऊँ” भन्ने तर्क कसैले सुनुवाई गरेन । अन्त्यमा, “तपाईहरु सधै विद्यालयमा राजनीति गर्नु हुन्छ” भन्ने आरोप लगाउँदै रामनारायण बैठक बहिष्कार गर्दै बाहिरियो । बैठक भाँडियो ।
२०७६ भदौ २२ आइतवार


लघुकथाः पथभ्रष्ट

 ४) पथ भ्रष्ट
– बटुकलाल तमाङ
डाँडा मन्दिरको फेदीमा रात गुजार्ने गरी तम्बुसहित अन्य आवश्यक सामग्री लिई रतुवा टोलका एक हुल अधबैंसे पुरुषहरु पिकनिक मनाइरहेका थिए । रात छिप्पिदै जाँदा प्रायः सबैको शरीरमा अल्कोहलको मात्रा बढ्दै गईरहेको थियो, शिवाय कुमार गुरुङको ।
जिब्रो लर्बबराउदै प्रेम सापकोटा कुमारलाई कर गर्दै थियो, “ओई कुमार, के हामीले सधै रक्सी खाएको देख्या छौ । आज पिकनिक भएर पो यसो अलिकति खाएको । सबै साथी भाईले खाएर रमाइलो गरी राख्या बेला तैले पनि अलिकति भए पनि खानै पर्छ ।”
“मैले अहिलेसम्म यो जिनिस खाएकै छैन, भो नखाउँ होला ।” कुमार तर्किन खोज्यो ।
भरत देवकोटा कुर्लियो, “ए कुमार, के फुर्ति लाउँछस् हँ । हामी रक्सी खाएर पथ भ्रष्ट, तँ रक्सी नखाएर पथ भ्रष्ट ।”
“कसरी ?”
“हामीले रक्सी खाएर आफ्नो सँस्कृति छाड्यौ, तैले रक्सी नखाएर आफ्नो सँस्कृति छाडिस् । हामी रक्सी खाएर पथ भ्रष्ट, तँ गुरूङको छोरो नखाएर पथ भ्रष्ट ।”
२०७६ भदौ २२ आइतवार


लघुकथाः माकरे सहयोग

३) माकरे सहयाेग
- बटुकलाल तमाङ
साइला बा गाउँभरि पुजनीय हुनुहन्थ्याे । समाजसेवा वहाँकाे पेशा नै भएकाे थियाे । निश्पक्षता वहाँकाे अाचरण बनिसकेकाे थियाे । एक दिन गाउँमा पिउने पानीकाे समस्या कसरी टार्ने भन्ने विषयमा अामभेला बस्याे । साे भेलाले नजिकैकाे थुम्के डाँडामा रहेकाे मुलकाे पानी पाइप राखेर टाेलटाेलमा वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भयो । सदाझै यसपाली पनि यस महान कार्यकाेलागि साइला बालार्इ नै अगुवा बनाइयाे । जिल्ला सदरमुकाम धाएर पाइपकाे व्यवस्था समेत भयाे । यता माकरे कान्छालार्इ त्याे रात निन्द्रा फिटिक्कै परेन । सँगैकाे साइला बा फेरि गाउँलेकाे नजरमा नायक हुने भाे भन्ने कुराले उसलार्इ खुबै पाेल्याे । भाेलिपल्ट उसले अाफ्ना दुर्इ चारजना मतियारसँग यस कार्यलार्इ कसरी भाँजाे हाल्ने र साइला बालार्इ असफल बनाउने भन्ने विषयमा छलफल गर्याे । उनीहरुकाे सल्लाह मुताविक पाइप ल्याउने अघिल्लाे रात थुम्के डाँडा जाने एउटै मात्र साँघुराेबाटाेमा ढुङ्गा मुढा राखेर तगाराे तेर्स्याइयाे । विहान साे बारेमा एककान दुर्इकान मैदान हुँदै गाँउभरि हल्ला फैलियाे । गाउँमा भेला बस्याे । तगाराे हटाउनु ठुलाे कुरा थिएन, तर तगाराे कसले राख्याे साे पत्ता लगाउनु जरुरी थियाे । सबैले एकैप्रकारकाे अड्कल काटे । साे अनुसन्धानकाे जिम्मा पुलिसलार्इ दिने निधाे भाे । अाफु अप्ठ्याराेमा पर्ने पक्का भएपछि माकरे कान्छा भिडबाट उठेर बाेल्याे, "जसले गरे पनि एकपटकलार्इ माफ दिम्न त, बरु त्यसलार्इ हामी नै सफा गरम्ला ।"
स्थानीय चुनाव अायाे । वडाध्यक्षकाे उमेद्वारमा धेरैले साइला बाकै मुख ताके । साइला बाले स्पष्ट पारे, "समाजसेवाकाे लागि कुनै पदमा बस्न जरुरी छैन ।" यस्ताे कुरा सुने पछि माकरे कान्छाे अाफ्नाे दलबल सहित साइला बाकाेमा पुगेर याचना गर्याे, "साइला, तिमी नउठ्ने भए पछि यसपाली मलार्इ सहयाेग गर्नु पर्याे । उति बेला बाटाेकाे तगाराे हटाउन मैले पनि तिम्लार्इ सहयाेग गरेकै थिएँ क्यार ।"
सेप्टेम्बर २०, २०१४


लघुकथाः बलियो सम्बन्ध

 २) बलियो सम्बन्ध

-बटुकलाल तमाङ
नोर्बुको जन्म सामान्य किसान परिवारमा जिल्ला सदरमुकामभन्दा टाढाको गाउँमा भएको थियो । सानैदेखि छिमेकको पुर्ण दाईसँग खुब मिल्ति थियो उसको, यद्यपि पूर्ण दाई उभन्दा सात, आठ वर्ष जेठो थियो । उनीहरुको सहयात्रा देख्दा गाउँलेहरु राम लक्ष्मणको संज्ञा दिन्थे उनीहरुलाई, तर उनीहरुबीच रगतको सम्बन्धसम्म पनि थिएन, थियो त केवल छिमेकको ।
पूर्ण दाई पढाइमा अब्बल थियो, गाउँमै मैटि्रक पास गरी क्याम्पस जाने पहिलो व्यक्ति थियो ऊ । क्याम्पसमा पढ्दा उ एउटा राजनैतिक पार्टी सम्बध्द विद्यार्थी संगठनको सदस्य तथा कार्यकर्ता पनि बन्यो, जुन पार्टी उसको बुवा र दाईको आस्था भन्दा अलग पनि थियो । घरमा आउँदा ऊ आफ्नो बुवा र दाईलाई आफ्नो पार्टी संगठनको दर्शन र सिध्दान्तका बारेमा बुझाउने प्रयत्न गर्थ्यो । यही विषयलाई लिएर बेला बेलामा घरमा भाँडभैलो समेत मच्चिने गर्दथ्यो ।
पूर्ण दाईको संगतले गर्दा नोर्बुसमेत पढाइमा अब्बल निस्कियो, समय बित्दै जाँदा ऊ पनि क्याम्पस जान थाल्यो । गाउँमा आफू सरहका साथीहरु स्कूले शिक्षा पूरा नगर्दै पढाइ छाड्ने चलनको माझ आफू पढाइमा बढी ध्यान दिने हुनुमा यसको श्रेया ऊ गर्वका साथ पुर्ण दाईलाई दिने गर्दथ्यो । विविध कारणले पुर्ण दाईले आफ्नो उच्च शिक्षालाई टुंगोमा पुर्‍याउन सकेन । बीचमा उसको बुवाको र्स्वर्गरोहण, दाईसँग छुट्टी भिन्न अनि उसको बिहे भई बाल बच्चा समेत भैसकेको थियो ।
गाउँमा स्थानीय निर्वाचनको माहौल थियो । नोर्बु र पुर्ण दाईको राजनैतिक आस्था फरक भए पनि मिल्ति टुटेको थिएन । बरु पुर्ण दाई भन्ने गर्नुहुन्थ्यो, "हेर भाई, यो राजनीतिको हावाले हाम्रो सम्बन्धलाई छुन दिनु हुँदैन, गाउँमा केही पर्‍यो भने पहिला पार्टीको मान्छेभन्दा हामीले नै एक आपासमा सहयोग गर्नु पर्ने हुन्छ ।" निर्वाचन सम्पन्न भयो । मत गणना रातारात हुन थाल्यो । मध्ये रातमा, पुर्ण दाईको पार्टी लगभग हार्ने निश्चित भएपछि साँझसँगै बसी गफ गरेको अर्को पार्टीका साथीहरुलाई पर पर्खालको छेल पारेर ढुंगा बर्साउन थाल्यो । विहानको उज्यालोसँगै उनीहरु गाउँ छाडेर वेपत्ता भए । दुर्इ दिन हुँदा पनि बेखवर भएपछि घरमा रुवावासी चल्यो । दुःखको बेलामा साथ दिन नोर्बु पुर्ण दाईको घरमा पुगेर सान्त्वनाको एक दुर्इ शब्द के बोल्दै थियो पूर्ण दाईको जाहान र आमाले सत्तो सराप हाल्न थाल्यो । नोर्बुको दाँतमा ढुङ्गा लागे जस्तै भयो, धेरै बेर टिक्नै सकेन विचरा त्यहाँ ।
एक हप्तापछि चुनावी माहौल सेलाउन थालेको थियो, पुर्ण दाई घर फर्किएको चाल पाएर नोर्बु उसलाई भेट्न गयो । नोर्बुलाई आशा थियो पुर्ण दाई त बुझेको मान्छे, उसको जाहान र आमाबाट भएको दुर्व्यवहारबारे राम्रै कुरा गर्ला, तर नोर्बुलाई देख्ने वित्तिकै पुर्ण दाई कड्कियो, "म नहुँदा मेरो घरमा आउने दुस्साहस कसरी गरिस् - मेरो सुरक्षा होइन तेरो टाउको जोगाउनु ।" आफ्नो हितैषी अग्रजको मुखबाट यो कुरा एकाएक सुन्दा नोर्बु छाँगाबाट खसे जस्तै भयो । घरमा आएर कोठा भित्र पस्यो, अघि देखि आँखामा जमेको आँशु बरर झर्न थाल्यो, जिन्दगीमा मनमा चोट लागेर नोर्बु पहिलो पटक रोएको थियो । अनि सबैभन्दा बलियो सम्बन्ध कुन चाहि हो - रगतको, फरियाको, मितको, हीतको, सँस्कृतिको, धर्मको, जातिको, राजनीतिको ...... उसले छुट्याउनै सकेन ।
नोभेम्बर १७, २०१२


मेरो अनुभूतिः कोभिड १९ संक्रमण

 कोभिड १९ संक्रमण, मेरो अनुभूति

-बटुकलाल तमाङ, चितवन

कोभिड १९ संक्रमणबाट मैले १९औं दिनमा औपचारिक मुक्ति पाएको रिपोर्ट प्राप्त गरें । कोभिड १९ केही पनि होइन, र कोभिड १९ संक्रमणले अफ्ठ्यारै पार्छ भन्ने खालको दुई फरक बजार हल्ला सुन्दै आएको थिएँ । दुवै खालको हल्लामा सत्यता छ । तर मलाई चाहि पछिल्लो भनाइ चरितार्थ भयो, अर्थात ८ दिनसम्म अति नै गाह्रो भयो ।

सदा झै विद्यालय आउने जाने अनि एकाध ठाउँमा गएको भन्दा अरु यात्रा विवरण खासै थिएन, तैपनि कातिक १९ गते ज्वरो आउन थाल्यो । मौसमी ज्वरो होला भन्ने ठानेर सिटामोल खाएँ । भोलिपल्ट विहान फ्रेस महसुस गरेकोले विद्यालय पनि गएँ । तर दिन ढल्दै जाँदा ज्वरो फेरी बढ्न थालेकोले घर फर्किएँ । बाँकी तीन दिनसम्म सिटामोल खाने, ६ घण्टामात्र ज्वरोबाट मुक्ति पाउने क्रम चलिरह्यो । तर चौथो दिनबाट स्वाद र गन्ध हरायो, खानेकुरा के खाएको खासै स्वाद पाउन छाड्यो । त्यस पछि असाध्यै गाह्रो दिन सुरु भयो । पाँचौ दिन अति मुश्किलले आफै साधन चलाएर चितवन मेडिकल कजेलमा स्वाब दिन गएँ । तबसम्म मेरी श्रीमतीलाई पनि ज्वरो आउन थाली सकेको थियो । उनी एउटा कोठामा र म अर्को कोठामा होम आइसोलेशनमा नै बस्यौं । छोरीलाई मेरो अनि ममिको छुट्टा छुट्टै स्याहार गर्नु पर्दा कामको भार थपियो । भोलिपल्ट साँझ ८ः३०बजे मोबाइलमा कोभिड १९ पोजिटिभ भन्ने मेसेज आयो, पर्सि पल्ट विहानै छोरीलाई रिपोर्ट लिन सीएमसी पठाएँ, सिटी भ्यालु इजेन ९.२८ र ओआरएफ ७.७ रहेछ । भाइरल लोड अत्याधिक भएको थाहा पाएँ । कुरा बुझ्दै जाँदा सिटी भ्यालु ३८भन्दा माथि आएमा नेगेटिभ र ३८वा सो भन्दा तल आएमा पोजिटिभ रिपोर्ट आउने जानकारी पाएँ । सिटी भ्यालु २०भन्दा कम आउनु भनेको खतराको चिन्ह पार गर्नु रहेछ, किनकी २०भन्दा कम हुँदा अरुलाई संक्रमण सार्ने सम्भावना अधिक हुने रहेछ । घरैमा बस्नु उचित ठानिन । अस्पताल जाउँ भने झन असुरक्षित महसुस हुने, यस मानेमा कि छिटो र सही हेरचाह पाइदैन कि भन्ने भ्रम र बजार हल्लाले मेरो मनमा राम्रै जरो गाडेको थियो । थप एक दिन के गर्ने भन्ने अन्यौलतामा नै बित्यो ।

बागेश्वरी चितवन स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको बारेमा भाइ मनोज बरालबाट जानकारी प्राप्त हुन आयो, त्यहाँको व्यवस्थापन राम्रो छ भन्ने पृष्ठपोषण पाएको थिएँ । यता हामीलाई स्याहार सुसार गर्न खटिएकी छोरीलाई पनि हलुका ज्वरो आयो भने पछि, तुरुन्त निर्णय लिइहालें । आफ्नो निजी साधनमा ओड्ने ओछ्याउने अनि अन्य केही दैनिक आवश्यकीय सामानहरु राख्यौं, अनि सीएमसी गएर श्रीमतीको समेत स्वाब संकलन गराइयो र सोझै बागेश्वरी प्राकृतिक चिकित्सालय तर्फ लाग्यौं । त्यहाँ पुग्ने वित्तिकै डाक्टरहरु तुरुन्तै फाइल बोकेर आउनु भयो । हाम्रो सबै विवरण लिखित रुपमा लिनु भयो । डा. हेमराज कोइरालाको नेतृत्वमा रहनु भएका पाँच सदस्यीय चिकित्सकहरु डा. प्रमोद, डा. प्रतिक्षा, डा.विकास अनि डा. सृष्टि साँचै नै यस प्राकृतिक चिकित्सालयका लागि अत्यन्तै उपयुक्त पात्राहरु र वरदान नै रहेको महसुस गरें । २४सै घण्टा विरामी (वहाँहरुको भाषामा भन्नु पर्दा कोभिड १९ संक्रमित योग साधकहरु)को हेरचाहमा खटिनु हुने रहेछ । मेरो रिपोट पोजिटिभ भएको हुँदा आइसोलेशन ब्लक भित्र प्रवेश पाएँ, तर श्रीमतीको रिपोर्ट नआएको हुँदा छुटै ब्लकमा राखियो । आइसोलेशन ब्लकमा करिब ६०जना जति थियौ हामी । मास्क लगाउन नपाइने नियम रहेछ त्यो भित्र, गजब अनुभव । जंगलको माझमा पर्याप्त अक्सिजन, हरेक दिन विहानको १ः३० घण्टा लामो योग अभ्यास, विरामीको अवस्था अनुसारको खानेकुरा, चिकित्सकहरुको विरामीलाई हुने व्यक्तिगत निगरानी, व्याडमिन्टन खेल, र खुला ठाउँमा विहानैबाट घाम ताप्ने अनि हिड्ने पर्यात स्थान, र विरामी साधाकहरु विच हुने भलाकुसारी नै यस प्राकृतिक चिकित्सालयको कोभिड १९ लाई सहजै र छिटै परास्त गर्ने सशक्त अस्त्रहरु हुन जस्तो लाग्छ मलाई । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित यस कार्यक्रम साच्चै नै अति प्रभावकारी छ । खाना र बस्नलाई वडाको सिफारिश ल्याए पछि निशुल्क रहेछ ।

यहाँ बस्दा थप पाँच दिन मलाई ज्वरोले छाडेन, असाध्यै गलायो, करङको भागमा अति दुख्ने, सुत्न नसकिने, सास नै छिनेर लैजान्छ कि जस्तो हुने । मोबाइल साइलेन्टमा राखेको थिएँ, इष्ट मित्र साथीहरुको फोनकल अधिक आइरहेको थियो, उठाएर कुरा गर्ने अवस्था थिएन, यसका लागि सबै इष्ट मित्र साथीहरुमा क्षमा प्रार्थी छु । यहाँहरुको हरेक कलले मलाई यस जटिल घडीमा हौसला अनि उर्जा मिली रहेको थियो । माइलो भाई, बुद्धि, बु्रनाईबाट ठूली छोरी अस्मिता अनि ज्वाइँ, हेटौडाबाट माइली छोरी रुविना अनि ज्वाइँ, घरबाट कान्छी छोरी प्रविना र छोराको बारम्बार आइरहने भिडियो कल र ढाडस साच्चै अदभुत औषधिको काम गरी रहेको थियो यतिबेला । हामीले घर छाडेको भोलिपल्ट घरमा छोरी र छोरालाई पनि हलुका ज्वरो आएको थियो एक एक डोज सिटामोलले उनीहरुले स्वास्थ्यलाभ गरे । कोभिड १९को रिपार्ट नेगेििटभ आए पनि तिहारको दिन श्रीमतीलाई अलि बढी नै गाह्रो भयो । भोलिपल्ट डा. प्रमोदले ल्याबबाट एकजना ल्याब कर्मचारी डाकी दिनु भयो र उनको रगत, दिसा, पिसाबको स्याम्पल लिएर होल बडी चेकअप भयो । हेमोग्लोविन ७ं.२, रगतमा केही संक्रमण र निमोनियाको लक्षण देखिए पछि माइलो भाईलाई बोलाएर उनलाई सिएमसी लगियो, अर्को तनाव सुरु । सोही दिन राती रगत चढाउनु पर्ने भयो राती नै । दाज्यु नरेन्द्र के.सी.लाई धेरै धेरै धन्यवाद शीघ्र रगतको व्यवस्थापन र अन्य कुरामा सहयोग गरी दिनु भएकोमा । पुनः भाइलर टेस्ट गरी कोभिड १९ नेगेटिभको कन्र्फमेशन गरी उनलाई भोलिपल्ट ननकोभिड वार्ड राखी निमोनियाको उपचार सुरु भयो, क्रमशः सुधार हुँदै गएको खबर पाइ रहेँ । सिएमसीमा साँच्चै राम्रो उपचार दिने रहेछ, मेरो मनमा रहेको गलत भ्रम हट्यो । १२दिन पछि मंसीर १गतेबाट बल्ल बल्ल ज्वरोबाट मुक्ति पाइयो, शरीर फ्रेस हुँदै आयो । योगा र त्यहाँको वातावरणले होला ज्वरो आउन छाडेको चार दिनमा नै असाध्यै स्वस्थ्य महसुस गरें । मंसीर ५ गते अर्थात ज्वरोको सुरुवात भएको १७औं दिन पुनः स्वाब दिइयो । मंसीर ७ गते बेलुका ५बजे तिर रिपोर्ट मेसेज आयो मोबाइलमा नेगेटिभ भनेर, त्यति बेला संसार नै जिते जस्तो भान भयो । श्रीमती पनि हिजो राति अस्पतालबाट डिस्चार्ज भइन्, धेरै सुधार भएको छ, निमोनियाबाट पूर्णरुपमा मुक्ति पाउँन उनलाई अझै केही लाग्ने डाक्टरको भनाइ छ, हाल घरैमा औषधि सेवन गरी स्वास्थ्यलाभ लिइरहेकी छिन । एउटा अति नमिठो कालखण्ड गुजारेर हिजो राति (मंसीर ७) गते सबैजना पुनः आफ्नै बासस्थानमा फर्किएका छौं । यस विचमा हाम्रोलागि स्वास्थ्यलाभको कामना गर्नु हुने सबै इष्टमित्र, साथी, शुभचिन्तकहरुमा हार्दिक नमन अनि आभार व्यक्त गर्न चाहन्छु । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय (कोभिड १९ आइसोलेशन केन्द्र) वागेश्वरीमा रहँदा सहयोग पुर्याउनु हुने पाँचैजना मेहनती र कर्तव्यपरायण चिकित्सकहरु, प्रशासकीय अधिकृत मित्र कमल पाण्डे, भान्सा र अन्य व्यवस्थापनका टीम, सुरक्षाकर्मीहरु, सामानहरु ल्याउन सहयोग पुर्याउने सीता बहिनी, आइसोलेशन भित्र सँगै बसी बसाइलाई सरल र सहज बनाउने सबै साथीहरुलाई हार्दिक नमनका साथ पुनः स्मरण गर्न चाहन्छु । 

धन्यवाद । (२०७७ मंसीर ०८)




नेपाली निबन्धः अनुशासन र शासन

 अनुशासन र शासन

—बटुकलाल तमाङ
(२०७५)

अनुशासन र शासन झट्ट सुन्दा एक अर्कामा त्यति सम्बन्ध नभए जस्तो लाग्छ । तर यी दुई बीच गहिरो सम्बन्ध छ, एउटै सिक्काको दुई पाटो जस्तै हो । एउटा भएको स्थानमा अर्कोको उपस्थिति अपरिहार्य छ । शब्द विन्यासका हिसाबले पनि यी दुई शब्दहरुमा एउटै बंशको रगत बगेको स्पष्ट देखिन्छ ।

आफुले आफुलाई, अर्थात आफैले आफ्नो मनलाई नियन्त्रणमा राख्नु अनुशासन हो । सत् नियमको पालना गर्नु वा गलत काम गर्नबाट आफुलाई मनबाटै नियन्त्रण गर्नु अनुशासन हो । मैले मेहनत गर्नु पर्छ, समयको सदुपयोग उत्पादनमूलक अनि सिर्जनात्मक काममा गर्नु पर्छ, मैले समाजका लागि पनि केही समय दिनु पर्छ, देश विकासमा मेरो योगदान रहनु पर्छ, शरीरलाई हानी गर्ने कुरा मैले सेवन गर्नु हुँदैन, बेकारमा समय खेर फाल्नु हुँदैन, अरुलाई हानी नोक्शानी हुने काम गर्नु हुँदैन, अरुको कुभलो चिताउनु हुँदैन, मैले भ्रष्टचार गर्नु हुँदैन, आदि जस्ता कुराहरुमा आफुले आफैलाई नियन्त्रणमा राख्न सक्नु अनुशासन हो ।

एउटाले अर्कोलाई नियन्त्रणमा राख्नु चाहि शासन हो । तैले मेहनत गर्नु पर्छ, तैले चुरोट खान पाउँदैनस्, तपाईले भ्रष्टाचार गर्न पाउनु हुन्न, चोकमा बसेर क्यारोमबोर्ड खेलेर तिमीले समय बर्बाद नपार, आदि जस्ता कुराहरुमा अरुलाई नियन्त्रण गर्नु चाहि शासन हो । घरको मुली पनि एक शासक नै हो, अनि हरेक संघ संस्थाको प्रमुख पनि नेतृत्वदायी भूमिकामा रहने भएकोले एक अर्थमा शासक नै हो । तर सामन्यतयः शासक भन्ने शब्दलाई नकरात्मक अर्थकोरुपमा हेर्ने गरेको पाइन्छ । तर यहाँनेर शासन भन्नाले सबै स्थानमा, चाहे त्यो घर होस् वा एउटा समूह, संघ संस्था होस् वा मन्त्रालय, स्थानीय निकाय होस् वा सिंगो देश, सबैमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुलाई बुझाइन्छ ।

सबै मानिसहरु अनुशासित भए यहाँ कसैले कसै माथि शासन गर्नु नै आवश्यक पर्दैनथ्यो । अनुशासित मानिसहरुको कमीले गर्दा नै शासन गर्ने शासक चाहिएको हो । शासन गर्ने मान्छे, अर्थात नेतृत्व गर्ने मानिस अनुशासित हुन चाहि अति जरुरी छ । अन्यथा उसको शासन कसैले स्वीकार गर्दैन, उसको शासन प्रभावहीन बन्न पुग्छ । आफैले भ्रष्टचार गर्ने अनि अरुलाई भ्रष्टचार नगर भन्दा अरुले उसको कुरा कति मान्ने ? आफै रक्सी पिउने अनि अरुलाई रक्सी पिउन हुँदैन, यसले हानी पु¥याउँछ भन्दा अरुले उसको कुरा कति पत्याउला, कति मान्ला ?

आफु अनुशासनमा नरहँदा हरेकले शासन गर्ने नैतिक बल गुमाइसकेको हुन्छ । नैतिक बल गुमाइसकेको शासकहरुले देशको नेतृत्व गर्दा उसको प्रभावहीन नेतृत्वको असर सिंगो देशवासीले भोग्नु पर्छ । देशको प्रगति र विकासमा समेत नकारात्मक असर पर्दछ । जुन दिन हाम्रो देशका नागरिकहरुले अनुशासित शासकहरु अर्थात नेताहरुको अनि संस्था प्रमुखहरुको छनौट गर्ने विवेक प्राप्त गर्दछ, त्यसै दिन देखि मात्र हाम्रो देशको प्रगति र उन्नतिले सहि मानेमा गति लिनेछ ।



शैक्षिक लेखः विद्यालय शिक्षामा अनलाइन कक्षा

विद्यालय शिक्षामा अनलाइन कक्षा  बटुकलाल तमाङ  भरतपुर, चितवन  भूमिका  कोभिड महामारीको बेलामा बाध्यतावश अनलाइन कक्षाहरुको लहर नै चल्यो । नहुन ...