अनुशासन र शासन
—बटुकलाल तमाङ
(२०७५)
अनुशासन र शासन झट्ट सुन्दा एक अर्कामा त्यति
सम्बन्ध नभए जस्तो लाग्छ । तर यी दुई बीच गहिरो सम्बन्ध छ, एउटै सिक्काको दुई पाटो जस्तै हो । एउटा भएको स्थानमा अर्कोको उपस्थिति
अपरिहार्य छ । शब्द विन्यासका हिसाबले पनि यी दुई शब्दहरुमा एउटै बंशको रगत बगेको
स्पष्ट देखिन्छ ।
आफुले आफुलाई, अर्थात आफैले आफ्नो मनलाई
नियन्त्रणमा राख्नु अनुशासन हो । सत् नियमको पालना गर्नु वा गलत काम गर्नबाट
आफुलाई मनबाटै नियन्त्रण गर्नु अनुशासन हो । मैले मेहनत गर्नु पर्छ, समयको सदुपयोग उत्पादनमूलक अनि सिर्जनात्मक काममा गर्नु पर्छ, मैले समाजका लागि पनि केही समय दिनु पर्छ, देश विकासमा मेरो योगदान
रहनु पर्छ, शरीरलाई हानी गर्ने कुरा मैले सेवन गर्नु हुँदैन, बेकारमा समय खेर फाल्नु हुँदैन, अरुलाई हानी नोक्शानी हुने
काम गर्नु हुँदैन, अरुको कुभलो चिताउनु हुँदैन, मैले भ्रष्टचार गर्नु हुँदैन, आदि जस्ता कुराहरुमा आफुले
आफैलाई नियन्त्रणमा राख्न सक्नु अनुशासन हो ।
एउटाले अर्कोलाई नियन्त्रणमा राख्नु चाहि शासन हो ।
तैले मेहनत गर्नु पर्छ, तैले चुरोट खान पाउँदैनस्, तपाईले भ्रष्टाचार गर्न पाउनु हुन्न, चोकमा बसेर क्यारोमबोर्ड
खेलेर तिमीले समय बर्बाद नपार, आदि जस्ता कुराहरुमा अरुलाई
नियन्त्रण गर्नु चाहि शासन हो । घरको मुली पनि एक शासक नै हो, अनि हरेक संघ संस्थाको प्रमुख पनि नेतृत्वदायी भूमिकामा रहने भएकोले एक अर्थमा
शासक नै हो । तर सामन्यतयः शासक भन्ने शब्दलाई नकरात्मक अर्थकोरुपमा हेर्ने गरेको
पाइन्छ । तर यहाँनेर शासन भन्नाले सबै स्थानमा, चाहे त्यो घर होस् वा एउटा
समूह,
संघ संस्था होस् वा मन्त्रालय, स्थानीय निकाय होस् वा सिंगो
देश,
सबैमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुलाई बुझाइन्छ ।
सबै मानिसहरु अनुशासित भए यहाँ कसैले कसै माथि शासन गर्नु नै आवश्यक पर्दैनथ्यो । अनुशासित मानिसहरुको कमीले गर्दा नै शासन गर्ने शासक चाहिएको हो । शासन गर्ने मान्छे, अर्थात नेतृत्व गर्ने मानिस अनुशासित हुन चाहि अति जरुरी छ । अन्यथा उसको शासन कसैले स्वीकार गर्दैन, उसको शासन प्रभावहीन बन्न पुग्छ । आफैले भ्रष्टचार गर्ने अनि अरुलाई भ्रष्टचार नगर भन्दा अरुले उसको कुरा कति मान्ने ? आफै रक्सी पिउने अनि अरुलाई रक्सी पिउन हुँदैन, यसले हानी पु¥याउँछ भन्दा अरुले उसको कुरा कति पत्याउला, कति मान्ला ?
आफु अनुशासनमा नरहँदा हरेकले शासन गर्ने नैतिक बल
गुमाइसकेको हुन्छ । नैतिक बल गुमाइसकेको शासकहरुले देशको नेतृत्व गर्दा उसको
प्रभावहीन नेतृत्वको असर सिंगो देशवासीले भोग्नु पर्छ । देशको प्रगति र विकासमा
समेत नकारात्मक असर पर्दछ । जुन दिन हाम्रो देशका नागरिकहरुले अनुशासित शासकहरु
अर्थात नेताहरुको अनि संस्था प्रमुखहरुको छनौट गर्ने विवेक प्राप्त गर्दछ, त्यसै दिन देखि मात्र हाम्रो देशको प्रगति र उन्नतिले सहि मानेमा गति लिनेछ ।

No comments:
Post a Comment