२) बलियो सम्बन्ध
-बटुकलाल तमाङ
नोर्बुको जन्म सामान्य किसान परिवारमा जिल्ला सदरमुकामभन्दा
टाढाको गाउँमा भएको थियो । सानैदेखि छिमेकको पुर्ण दाईसँग खुब मिल्ति थियो
उसको, यद्यपि पूर्ण दाई उभन्दा सात, आठ वर्ष जेठो थियो । उनीहरुको सहयात्रा देख्दा
गाउँलेहरु राम लक्ष्मणको संज्ञा दिन्थे उनीहरुलाई, तर
उनीहरुबीच रगतको सम्बन्धसम्म पनि थिएन, थियो
त केवल छिमेकको ।पूर्ण दाई पढाइमा अब्बल थियो, गाउँमै मैटि्रक पास गरी क्याम्पस जाने पहिलो व्यक्ति थियो ऊ । क्याम्पसमा पढ्दा उ एउटा राजनैतिक पार्टी सम्बध्द विद्यार्थी संगठनको सदस्य तथा कार्यकर्ता पनि बन्यो, जुन पार्टी उसको बुवा र दाईको आस्था भन्दा अलग पनि थियो । घरमा आउँदा ऊ आफ्नो बुवा र दाईलाई आफ्नो पार्टी संगठनको दर्शन र सिध्दान्तका बारेमा बुझाउने प्रयत्न गर्थ्यो । यही विषयलाई लिएर बेला बेलामा घरमा भाँडभैलो समेत मच्चिने गर्दथ्यो ।
पूर्ण दाईको संगतले गर्दा नोर्बुसमेत पढाइमा अब्बल निस्कियो, समय बित्दै जाँदा ऊ पनि क्याम्पस जान थाल्यो । गाउँमा आफू सरहका साथीहरु स्कूले शिक्षा पूरा नगर्दै पढाइ छाड्ने चलनको माझ आफू पढाइमा बढी ध्यान दिने हुनुमा यसको श्रेया ऊ गर्वका साथ पुर्ण दाईलाई दिने गर्दथ्यो । विविध कारणले पुर्ण दाईले आफ्नो उच्च शिक्षालाई टुंगोमा पुर्याउन सकेन । बीचमा उसको बुवाको र्स्वर्गरोहण, दाईसँग छुट्टी भिन्न अनि उसको बिहे भई बाल बच्चा समेत भैसकेको थियो ।
गाउँमा स्थानीय निर्वाचनको माहौल थियो । नोर्बु र पुर्ण दाईको राजनैतिक आस्था फरक भए पनि मिल्ति टुटेको थिएन । बरु पुर्ण दाई भन्ने गर्नुहुन्थ्यो, "हेर भाई, यो राजनीतिको हावाले हाम्रो सम्बन्धलाई छुन दिनु हुँदैन, गाउँमा केही पर्यो भने पहिला पार्टीको मान्छेभन्दा हामीले नै एक आपासमा सहयोग गर्नु पर्ने हुन्छ ।" निर्वाचन सम्पन्न भयो । मत गणना रातारात हुन थाल्यो । मध्ये रातमा, पुर्ण दाईको पार्टी लगभग हार्ने निश्चित भएपछि साँझसँगै बसी गफ गरेको अर्को पार्टीका साथीहरुलाई पर पर्खालको छेल पारेर ढुंगा बर्साउन थाल्यो । विहानको उज्यालोसँगै उनीहरु गाउँ छाडेर वेपत्ता भए । दुर्इ दिन हुँदा पनि बेखवर भएपछि घरमा रुवावासी चल्यो । दुःखको बेलामा साथ दिन नोर्बु पुर्ण दाईको घरमा पुगेर सान्त्वनाको एक दुर्इ शब्द के बोल्दै थियो पूर्ण दाईको जाहान र आमाले सत्तो सराप हाल्न थाल्यो । नोर्बुको दाँतमा ढुङ्गा लागे जस्तै भयो, धेरै बेर टिक्नै सकेन विचरा त्यहाँ ।
एक हप्तापछि चुनावी माहौल सेलाउन थालेको थियो, पुर्ण दाई घर फर्किएको चाल पाएर नोर्बु उसलाई भेट्न गयो । नोर्बुलाई आशा थियो पुर्ण दाई त बुझेको मान्छे, उसको जाहान र आमाबाट भएको दुर्व्यवहारबारे राम्रै कुरा गर्ला, तर नोर्बुलाई देख्ने वित्तिकै पुर्ण दाई कड्कियो, "म नहुँदा मेरो घरमा आउने दुस्साहस कसरी गरिस् - मेरो सुरक्षा होइन तेरो टाउको जोगाउनु ।" आफ्नो हितैषी अग्रजको मुखबाट यो कुरा एकाएक सुन्दा नोर्बु छाँगाबाट खसे जस्तै भयो । घरमा आएर कोठा भित्र पस्यो, अघि देखि आँखामा जमेको आँशु बरर झर्न थाल्यो, जिन्दगीमा मनमा चोट लागेर नोर्बु पहिलो पटक रोएको थियो । अनि सबैभन्दा बलियो सम्बन्ध कुन चाहि हो - रगतको, फरियाको, मितको, हीतको, सँस्कृतिको, धर्मको, जातिको, राजनीतिको ...... उसले छुट्याउनै सकेन ।
नोभेम्बर १७, २०१२

No comments:
Post a Comment